७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

लोकप्रियता हासिल गर्दा गर्दै चुनाव हारेका निसार



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका लोकप्रिय जनप्रतिनिधि निसार अहमद खाँ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित हुन पुगेका छन् ।

०७४ सालमा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा निर्वाचित खाँ पुनः दोस्रो कार्यकालका लागि चुनावी मैदानमा थिए । यद्यपि उनी झिनो मतान्तरले पराजित हुन पुगेका छन् ।

खाँ यो निर्वाचनमा जनता समाजवादी पार्टीबाट पालिकाको अध्यक्षमा उठेका थिए । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका कमलेश शरण चौधरीले पराजित गरेका हुन् ।

खाँले ४ हजार १ सय ८२ मत पाउँदा चौधरीले ४ हजार ४ सय ८१ मत पाएका निर्वाचित भए ।

चुनावमा पराजय भोगे पनि खाँ ५ बर्षे कार्यकालमा लोकप्रिय काम गर्ने जनप्रतिनिधि हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित भए पछि सरकारी गाडीको प्रयोग गर्न उनले मानेनन् । मोटरसाइकलमा उनी पालिकाको काममा सक्रिय बने । थुप्रै दबाबका बीच पालिकाले गाडी किने पनि उनी चढेनन् । आफ्नो हैसियत मोटरसाइकल चढ्ने भएकाले गाडी नचढ्ने उनले अडान राख्दै आएका थिए ।

खाँले पालिकामा एम्बुलेन्सको आवश्यकता ठानेर त्यता तिर ध्यान लगाए । अहिले पालिकाका प्रत्येक वडामा सेवा दिने गरि एम्बुलेन्स छन् ।

यति मात्र होइन् खाँ ले आफ्नो कार्यकालमा शिक्षामा पनि विशेष जोड दिए । पालिका भित्र सिभिल इन्जिजियरको पढाई हुने गरि कलेजको स्थापना गरे । अहिले देशभरका विद्यार्थी शुद्धोधन भित्र सिभिल इन्जिजियर पढ्न आउने गरेका छन् ।

साथै उनले पालिका भित्र नै कन्या कलेजको निर्माणमा ध्यान लगाए । स्थानीय, प्रदेश र संघको बजेट पार्न सफल खाँ कै पालामा पालिका भित्र कन्या कलेजको निर्माण धमाधम भइरहेको छ ।

सडक निर्माणमा पनि उनको विशेष जोड रह्यो । निसार मार्गको चित्र कोरेर खाँ यसलाई पूरा गर्ने दिशामा थिए ।

गाउँ गाउँमा सडकको सञ्जाल उनले पु-याएका थिए । पुलपुलेसा पनि उनको पालामा अधिकांश निर्माण भए । कोरोनाकालमा उनले खेलेको भूमिका पनि प्रशंसनीय रहन गएको थियो ।

जटिल खालका विरामीलाई प्रति व्यक्ति ३० हजार आर्थिक सहायता दिने व्यवस्था पालिकाबाट उनले मिलाएका थिए ।
जनताको घरदैलौ मै पुगेर काम गर्दै आएका खाँ यो निर्वाचनमा पराजित हुन पुगेका हुन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९ शनिबार ००:००  ८ : ४८ बजे