८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

टंक रेग्मीलाई लायन्स क्लव अफ कपिलवस्तुद्धारा आर्थिक सहयोग



कपिलवस्तु ।

लायन्स क्लव अफ कपिलवस्तुले टंक प्रसाद रेग्मी बचाउ अभियानलाई आर्थिक रकम हस्तान्तरण गरेको छ । क्लवको कार्यालय वैरियामा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष धातानन्द भूसाल र वडाध्यक्ष सन्जु कुमार सारुले संयुक्त रुपमा रेग्मीका श्रीमती माया रेग्मीलाई १७ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि वडा नं.१ वडाध्यक्ष सन्जु कुमार सारुले लायन्स क्लव अफ कपिलवस्तुले सामाजिक कार्य स्वरुप यस्तो उदाहरणीय गरेकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख समेत रहनुभएका वडाध्यक्ष सारुले आगामी दिनमा पनि यस्ता सहयोगी कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै क्लवका अध्यक्ष धातानन्द भुसालले विगत ५ बर्षदेखि मानवीय तथा सामाजिक क्षेत्रमा क्रियाशिल हुदै निरन्तर काम गर्दै आईरहेको बताउनुभयो ।
भुसालले अन्य क्षेत्रमा क्रियाशिल व्यक्ति, संघसंस्थालाई रेग्मीको उपचारका लागी आर्थिक गरि मानवीय कार्यमा सरिक हुन अपिल समेत गर्नुभयो । क्लबका कोषाध्यक्ष नवदत्त घिमिरेले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा क्लबका सदस्यसहित अन्य सहयोगी मनहरुको समेत उपस्थित रहेको थियो ।
रेग्मीको ब्रेन ट्युमर रोगको ७ बर्ष अघि अपरेशन गरिएकोमा पुनः अपरेशन गर्नुपर्ने भएकाले परिवारले केही आर्थिक सहयोगको लागी अपिल गरेको थियो । रेग्मीको उपचारमा आर्थिक समस्या भएको समाचारमायादेवी अनलाइन र रेडियो मायादेवीले प्रसारण गरेको थियो ।
औषधि उपचारकै क्रममा निजको सबै नगद तथा सम्पत्ति सकिएकाले आफु सक्दो आर्थिक सहयोग गरि जीवन रक्षाका लागी सहयोग गर्न परिवारले अपिल गरेको छ ।

हालसम्म आफन्त, छिमेकी र गाउँलेहरु आर्थिक रकम जुटाउन सक्रिय छन् । अहिले विरामी रेग्मीको काठमाडौं स्थित अन्नपुर्ण न्युरो हस्पिटलमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९ शनिबार ००:००  ६ : ५९ बजे