२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025

७४९ पालिकाको नतिजा सार्वजनिक, ४ पालिकाको मतगणना जारि



काठमाडौं ।

स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये बाजुराको बुढीगंगा नगरपालिकामा अझै मतगणना सुरू भएको छैन।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ। दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।
यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा छ भने १ महानगर, १ उपमहानगरसहित २० पालिका जितेको नेकपा एकीकृत समाजवादी पाँचौ स्थानमा छ।

लोकतान्त्रिक समाजवादी पार्टीले १६ पालिकामा प्रमुख पद जितेको छ।यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले समान ४(४ पालिकामा प्रमुख पद जितेका छन्।

सिके राउत नेतृत्वको जनमत पार्टीले २ पालिकामा प्रमुख पद जित्दा नेपाल मजदुर किसान पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, जनता प्रगतिशील पार्टी र विवेकशील साझा पार्टीले १(१ पालिकामा प्रमुख पद जितेका छन्।यस्तै स्वतन्त्रबाट उठेका १२ जनाले पालिकामा प्रमुख पद हात पारेका छन्।

अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरको त्रियुगा नगरपालिका छ। जहाँ नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ। यस्तै बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्।

लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ। जहाँ नेपाली कांग्रेसले अग्रता लिइरहेको छ।यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ। यहाँ विवादका कारण अझै मतगणना सुरू हुन सकेको छैन।

प्रकाशित मिति : १२ जेष्ठ २०७९ बिहिबार ००:००  ६ : १२ बजे