७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

‘४५ बर्ष मुनिकाले हाक्दै कपिलवस्तुका यी चार पालिका’



दीपा महत, बाणगंगा ।
कपिलवस्तुका ४ पालिकाको नेतृत्व ४५ बर्ष मूनिका युवाको काँधमा गएको छ । नेपालमा बैधानिक रुपमा ४० बर्ष उमेर समूहकालाई युवा मानिए पनि राजनीतिमा ५० बर्षसम्मकालाई युवा नै मान्ने चलन छ । यद्यपि जिल्लाका ४ पालिकाको नेतृत्व ४५ बर्ष मूनिकाको हातमा गएकाले यसलाई राजनीति पुस्तान्तरणका रुपमा अथ्र्याइएको हो ।

जिल्लाका १० पालिका मध्ये शिवराज नगरपालिकाको नेतृत्व ३३ बर्षीय युवाले पाएका छन् । युवा माझ लोकप्रिय अजय थापा शिवराजका नगर प्रमुख बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित थापा जिल्लाकै सबैभन्दा कान्छा उमेर समूहका नगर प्रमुख बनेका हुन् ।

जिल्लाकै व्यापरिक केन्द्रको रुपमा रहेको शिवराज महत्वपूर्ण पालिका हो । ८४ हजार ४४५ जनसंख्या रहेको शिवराजको पहिलो नगर प्रमुखका रुपमा नेत्रराज अधिकारी थिए । उमेरले ७० बर्षको आसपासमा रहेका अधिकारीको उत्तराधिकारीका रुपमा ३३ बर्षीय थापा आएका हुन् ।

उनले ४२ बर्षीय महादेव पोख्रेललाई पराजित गरेका थिए । थापा र पोख्रेलको मतान्तर ४ सय ७४ मात्र हो ।

११ वडा रहेको शिवराजमा कुल मतदाता ४४ हजार ५५८ जना छन् ।

राजनीतिमा परिपक्कता खोज्ने चलनका बीच थापाको शिवराज पालिका प्रमुखको यात्रा कस्तो रहन्छ हेर्न बाँकी नै छ ।

जिल्लाको दक्षिणी भेगमा रहेको शुद्धोधन गाउँपालिकाको नेतृत्व पनि ४१ बर्षीय युवाको काँधमा आएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका कमलेश शरण चौधरीले ५५ बर्षीय निसार अहमद खाँलाई पालिका अध्यक्षमा पराजित गर्दै शुद्धोधनको नेतृत्वमा आएका हुन् । निसार निवर्तमान पालिका अध्यक्ष मात्र थिएनन्, जीवनभर राजनीति गर्दै आएका पुराना नेता थिए ।

मधेस केन्द्रीत दलबाट राजनीति गर्दै आएका निसारको ५ बर्षे कार्यकाल सन्तोषजनक नै बित्यो । सबै बीच लोकप्रियता हासिल गरेका निसारलाई शुद्धोधनका जनताले पराजित गरे । जनताको अभिमतबाट शुद्धोधनको बागडोर सम्हाल्न आएका कमलेश ५ बर्ष पहिला नै पालिकाको अध्यक्षमा उम्मेद्वार थिए । यिनै निसारसंग पराजित भएका कमलेश युवा माझ लोकप्रिय छन् ।

शुद्धोधन गाउँपालिकाको जनसंख्या ५३ हजार ४१७ छ । २७ हजार ७७५ मतदाता रहेको शुद्धोधनको विकासमा युवा जनप्रतिनिधि कमलेशले कस्तो भूमिका खेल्छन् हेर्न बाँकी छ ।

४८ बर्षीय राजेश कुमार गुप्तालाई पराजित गर्दै कपिलवस्तु नगरपालिकाको नेतृत्व गर्न आएका नेता हुन् सुदीप पौडेल । ४४ बर्षीय पौडेलले ६० बर्षीय निवर्तमान नगर प्रमुख किरण सिंहलाई पनि हराउन पुगे । ०५४ का नगर उप-प्रमुख र ०७४ का नगर प्रमुख भएर काम गरेका सिंह यसपालि नराम्रो गरि पराजय हुन् पुगे ।

देशकै पुरानो नगरपालिकाको बागडोर सम्हाल्ने गरि जनताले सुदीपलाई नगरको नेतृत्वमा पठाएका छन् ।

जनता समाजवादी पार्टी, नेपालबाट चुनाव जितेका सुदीप युवा माझ लोकप्रिय छन् । ३९ बर्षको उमेरमै ०७४ मा वडाध्यक्ष भएर काम गरेका सुदीप ४४ बर्षको हुँदा नगर प्रमुख बने ।

८९ हजार ९६९ जनसंख्याका अभिभावक बनेका सुदीप ४७ हजार ८० मतदाताबाट चुनिएका हुन् । जिल्ला सदरमुकाममा अवस्थित यो नगरपालिका सबैको नजरमा पर्ने पालिका हो । सरसरफाईमा कमजोर रहेको यो नगर विकासका पूर्वाधारमा पनि खासै प्रगति छैन् । अस्तव्यस्त शहरीकरण यसको अर्को समस्या हो । मानव विकास सूचाकाङ्कमा पछाडि नै रहेको यो नगरलाई युवा जनप्रतिनिधिले कसरी काम गर्छन् सबैको ध्यान त्यता तिर छ ।

जिल्लाको सुदुर पश्चिमी क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकाको नेतृत्व पनि ४३ बर्षीय गोपाल बहादुर थापाले सम्हाल्ने भएका छन् । ३८ बर्षकै उमेरमा पालिकाको नेतृत्व गरिसकेका थापा पुनः दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ५० बर्षीय जानकी यादवलाई पराजित गरे भने, ५७ बर्षीय नफिक मोहम्मद मुसलमान समेत पालिकाको दौडमा थिए ।

राजनीतिमा पाका नेता मुसलमान थिए । नेपाली कांग्रेसबाट चुनावमा उठेका मुसलमान थापासंग तेस्रो स्थानमा रहदै चुनाव हारे ।

पालिकाका २३ हजार ८०२ मतदाताको रोजाइमा परेका थापा ४३ हजार ४४० जनसंख्याका अभिभावक हुन् । पहिलो कार्यकाल सफलतापूर्वक सकेका थापाको काम अब हेर्न पर्दैन् । यद्यपि आम पालिकाबासीका सपना भने साकार गर्नै पर्नेछ ।

विकासको दीर्घकालिन रोडम्याप बनाउने देखि पालिकामा रहेको बेरोजगारी समस्या हटाउनुपर्ने छ । गरिबीको रेखालाई पुर्नु छ भने, शिक्षा, स्वास्थ्यलाई तल्लोबर्गको पहुँचमा स्थापित गर्नुपर्ने छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९ आइतबार ००:००  ९ : ५० बजे