७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

विजयनगर एमालेले बनायो लालकिल्ला, १ वडा बाहेक सबैमा एमाले विजयी



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा (एमाले)ले आफ्नो वर्चश्व कायम राखेको छ ।

७ वडामध्ये एक वडाबाहेक ६ वडाध्यक्ष, पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेर एमालेले विजयनगरमा आफ्नो वर्चश्व कायम राखेको हो ।

पालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः गोपाल थापा निर्वाचित भएका छन् । थापाले आफ्ना प्रतिस्पर्धी जनता समाजवादी पार्टीका जानकी यादवलाई पराजित गरेका हुन् ।

थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गरे भने, यादवले ५ हजार ३ सय ३४ मत पाए ।

०७४ मा पनि थापाले यादवलाई नै पराजित गरेर पालिकाको अध्यक्ष बनेका थिए ।

यस्तै उपाध्यक्षमा एमालेकी लक्ष्मी चौधरी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । चौधरी जसपाकी गुन्जेश्वरी कुर्मीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भइन् ।

विजयी भएकी चौधरीले ४ हजार ९ सय ३० मत पाउँदा पराजित बनेकी कुर्मी ४ हजार ८ सय ४९ मत प्राप्त गरिन् ।

७ वडा मध्ये एमालेबाट वडा नं. १ को वडाध्यक्षमा इन्नर थारु, वडा नं. २ को वडाध्यक्षमा नेपाल थारु, वडा नं. ४ को वडाध्यक्षमा तिलकराम कंडेल, वडा नं. ५ को वडाध्यक्षमा अनवर महोम्मद मुसलमान, वडा नं. ६ को वडाध्यक्षमा प्रेमबहादुर कलवार र वडा नं. ७ को वडाध्यक्षमा दिनेश कुमार चौधरी निर्वाचित भएका छन् ।

वडा नं. ३ को वडाध्यक्षमा भने, जसपाका हृदय विकास चौधरी वडाध्यक्ष बनेका छन् ।

निर्वाचन कार्यलयले अन्तिम मत परिणाम सार्वजनिक गर्दै छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९ शनिबार ००:००  ८ : १४ बजे