९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

०७४ मा स्वतन्त्रबाट कृष्णनगरको मेयर जितेका शाहले अहिले कांग्रेसबाट जिते



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाली कांग्रेसका रजत प्रताप शाह मेयरमा निर्वाचित भएका छन् ।

शाहले राप्रपाका दिपक रजौरिया, माओवादी केन्द्रका जावेद आलम खाँ र एमालेका कुणाल प्रताप शाहलाई पराजित गरेका हुन् ।

शाहले ५ हजार ६ सय ६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रजौरियाले ४ हजार १ सय १२ मत ल्याए । नेकपा माओवादी केन्द्रका खाँले ३ हजार ९ सय ८७ मत प्राप्त गरे ।

नगरमा निर्वाचित शाह ०७४ सालमा कृष्णनगरको मेयरमा स्वतन्त्रबाट निर्वाचित भएका थिए । ४ बर्ष स्वतन्त्र रुपमा नै काम गरेका शाह केहीँ महिना अगाडी कांग्रेस प्रवेश गरेका थिए ।

कांग्रेस प्रवेश गरे पछि मेयरको टिकट पाएका शाह दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् ।

नगरको उपमेयरमा कांग्रेसकै आरतीदेवी चौधरी निर्वाचित भएकी छिन् । उनले एमालेकी विमलेश मौर्या र जसपाकी आरतीदेवी यादवलाई पराजित गरेकी हुन् ।

उपमेयरमा कांग्रेसकी चौधरीले ५ हजार ६ सय ९१ मत ल्याउँदा जनता समाजवादी पार्टी (जसपा) की आरती सिंह यादवले ३ हजार २ सय ८२ मत ल्याइन् । माओवादीकी पुष्पा तिवारीले २ हजार ८ सय ९ मत प्राप्त गरिन् ।

१२ वटा वडा रहेको कृष्णनगरमा कांग्रेस र एमालेले ३/३, जसपा र माओवादीले २/२, राप्रपा र बहुजन शक्ति पार्टीले समान १/१ वडाध्यक्ष जितेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  १० : ०६ बजे