मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ । नेकपा (एमाले)बाट वडाध्यक्षमा उम्मेद्वार भएका सुकदेव थारुलाई पराजित गर्दै कांग्रेसका करुण टण्डन वडाध्यक्षमा विजयी भएका हुन् ।
विहीबार विहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार टण्डन वडाध्यक्षमा झण्डै ४ सय मतान्तरले विजयी भए ।
टण्डनले जितेको यो वडा एमालेको गढ जस्तै मानिन्छ । एमालेले विगत ३० बर्ष देखि जित्दै आएको वडा अहिले गुमाउन पुगेको हो । निवर्तमान वडाध्यक्षसमेत रहेका थारु दोस्रो कार्यालयका लागि चुनावी मैदानमा थिए । अन्ततः कांग्रेसले वडामा पुरै प्यानलै निकालेको छ ।
टण्डन एमाले मात्र होइन् राष्ट्रिय जनमोर्चासंग पनि प्रतिस्पर्धामा थिए । कपिलवस्तुमा राम्रो संगठन बनाएको जनमोर्चाले पनि यो वडा गुमाउन पुगेको छ ।
थुप्रै कम्युनिष्ट नेता जन्माएको वडा नम्बर ६ मा कांग्रेसको उदय भएपछि वाणगंगाको माहोल फरक गरि तातेको छ । एमाले भित्रको आन्तरिक झगडाकै कारण वडा गुमाउन पुगेको विश्लेषण छ । टिकट वितरणमा देखिएको व्यापक असन्तृष्टिका कारण वडा गुम्न पुगेको एमाले कार्यकर्ता बताउँछन् ।
प्रतिक्रिया