९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

दुई आधार इलाका गुमाएको कपिलवस्तु एमाले



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा दुई आधार इलाका नेकपा (एमाले)ले गुमाएको छ । गएको बैशाख ३० गते शुक्रबार भएको स्थानीय तहको चुनावमा एमाले कपिलवस्तुले बुद्धभूमि २ र वाणगंगा ३ गुमाएको हो ।

बुद्धभूमि नगरपालिकाको वडा नं. २ एमालेको आधार इलाका हो । ०५४ सालको स्थानीय निकायको चुनाव जितेको (साविक जयनगर गाविस) हालको वडा नं. २ एमालेबाट कांग्रेसले फुत्काएको छ ।

यो वडामा नेपाली कांग्रेसका सुरजप्रताप राणाले एमालेका निलकुमार श्रेष्ठलाई पराजित गरे । तिनै राणा हुन्, जहिल्यै एमालेसंग चुनाव हार्दै आएका थिए ।

०७४ को स्थानीय तहको चुनावमा बुद्धभूमिको मेयर १ सय ३८ मतले एमालेले हार्दै गर्दा वडा नं. २ ले जितेर एमालेलाई केहीँ राहत मिलेको थियो । तर, अहिले सिंगो आधार इलाका रहेको वडा एमालेले गुमाउन पुगेको छ । वडा गुम्नुमा पार्टी भित्र विभिन्न आन्तरिक कारण छन् । चुनाव पछि छलफल गर्ने नेताहरु बताउँछन् ।

वाणगंगा नगरपालिकाको चुनाव नतिजा लगभग आफ्नो पोल्टामा पार्दै गर्दा एमालेले वडा नं. ३ गुमाउन पुगेको छ । नगरका ११ वडा मध्ये ४ वडा एमालेले जितिसकेको छ । वडा नं. १० कांग्रेसबाट फिर्ता ल्याउन सफल भएको एमाले वाणगंगा वडा नं. ४ पनि कांग्रेसबाट फिर्ता ल्याउन सफल भयो । वडा नं. १० मा एमालेका यमलाल पोख्रेल वडाध्यक्षमा विजयी भए । वडा नं. ४ मा एमालेका छवि रेश्मीले कांग्रेसका बुद्धि बहादुर रोकाहालाई वडाध्यक्षमा पराजित गरे । यी दुवै ०७४ मा कांग्रेले जितेको थियो ।

तर, वडा नं. ३ एमालेको आधार इलाका रहदा रहदै ०७९ मा गुमाउन पुगेको छ । वडा नं. ३ मा एमालेका वडाध्यक्षका उम्मेद्वार सन्तराम रौतारलाई माओवादी केन्द्रका टेक बहादुर झेँडीले पराजित गरे । २ मतको मतान्तरमा झेँडीले रौतारलाई हराएका हुन् । यद्यपि वडाका अन्य ४ जना सदस्य एमालेले जितेको छ ।

साविक गजेहडा गाविसको आधार भूभाग रहेको वडा नं ३ एमालेको लामो विरासत भएको वडा हो । नेपाली कांग्रेस तुलनात्मक रुपमा कमजोर रहेको यो वडामा एमालेको पकड छ । यद्यपि माओवादीले आफ्नो संगठन सुधार गर्दै वडा जित्न सफल रह्यो ।
०५४ मा एमालेले साविक गजेहडा गाविस जितेको थियो । स्वर्गीय रुद्रबहादुर कुँवर गजेहडा गाविसको अध्यक्ष भएर लामो समय काम गरे ।

०७४ मा गजेहडा वडा नं. ३ र वडा नं. ४ गरि २ वडामा विभाजन भयो । यद्यपि वडा नं. ३ एमालेमा बलियो हुँदै गर्दा वडा नं. ४ कांग्रेसको बलियो बन्यो । ०७४ मा एमालेले वडा नं. ३ जिते पनि ०७९ मा गुमायो भने, ०७४ मै वडा नं. ४ कांग्रेसले जिते पनि ०७९ मा कांग्रेसले गुमाउन पुग्यो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९ बुधबार ००:००  ८ : ०३ बजे