दीपा महत, वाणगंगा ।
काठमाडौंको मेयरका उम्मेद्वार बालेन शाह जति चर्चामा छन्, यस्तै चर्चामा सुदीप पौडेल कपिलवस्तुमा छन् ।
कपिलवस्तु नगरपालिकाको मेयरमा उम्मेद्वार दिएर अन्तिम मतपरिणामको आशामा बसेका पौडेल मेयरको कुर्चीमा पदासिन हुन्छन् की हुँदैनन् बक्स भित्र रहेका ‘व्यालेट’मा भर पर्छ । यद्यपि पौडेलले बढाउँदै लगेको अग्रताले उनको सुखद परिणाम देखाउँछ ।
१२ वडा रहेको कपिलवस्तु नगरपालिका जिल्ला सदरमुकाम रहेको नेपालकै दोस्रो पुरानो नगरपालिका हो । बौद्ध सम्पदाले भरिपूर्ण यस नगरपालिका हालै भएको स्थानीय तहको चुनावले झनै चर्चामा छ ।
झण्डै २८ बर्षसम्म संगै सहयात्रा गरेका कपिलवस्तुका वरिष्ठ नेता तथा संघीय सांसद बृजेश कुमार गुप्तालाई चटक्क छाडी पौडेल चुनावको मुखैमा जसपा नेपाल प्रवेश गरे । एमालेमा टिकट पाउने आशा लगभग समाप्त भएपछि पौडेल जसपा तिर हानिएका हुन् ।
युवाका ढुकढुकी जस्तै रहेका पौडेल तौलिहवा क्षेत्रका लोकप्रिय निवर्तमान जनप्रतिनिधि समेत हुन् । एमालेबाटै मेयरको टिकट पाउनुपर्छ भन्ने दबाब दिए पनि उनलाई पार्टीले टिकट दिएन् । त्यस पछि विद्रोह गरि जसपाको छाता चुनाव चिह्न लिएर चुनावी मैदानमा उनी होमिन पुगेका हुन् ।
बैशाख ३० गतेको निर्वाचन पश्चात अहिले मतगणना जारी छ । प्रारम्भिक मत परिणाम सार्वजनिक भइरहदा पौडेल झनै चर्चामा छन् । सोमबार साँझसम्म नगरका ६ वडाको मतपरिणाम आइसकेको छ । वडा नं. १, वडा नं. २, वडा नं. ३, वडा नं. १०, वडा नं. ११ र वडा नं. १२ को मतपरिणाम सार्वजनिक हुँदा पौडेल आफ्ना प्रतिष्पर्धीलाई पछि पारिरहेका छन् ।
पौडेलका मुख्य प्रतिस्पर्धी एमालेका डा राजेश गुप्ता र कांग्रेसका किरण सिंह हुन् । निवर्तमान मेयर समेत रहेका सिंह मेयरको दौडबाट लगभग पछाडी छोडिसकेका छन् । कांग्रेसका उम्मेद्वार सिंह आफ्ना पार्टीका तीन जनाले वडाध्यक्ष जित्दा समेत उनको मत बढ्न सकेन् । बरु पौडेलको मत बढीरहेको छ ।
वडा नं. २ मा मात्र चुनाव जितेको एमालेले यस वडामा मात्र मेयरमा आफ्नो अग्रता बढाएको थियो । तर, जसपा स्वयमका दुई जना वडाध्यक्षले चुनाव जित्दा पौडेलको मतान्तर फराकिलो बन्यो । तीन जना कांग्रेसका वडाध्यक्षले चुनाव जित्दा पौडेललाई लाभ मिल्यो ।
सोमबार साँझको मतपरिणाम अनुसार पौडेल ६ हजार २ सय ६० मत पाएर अग्रस्थानमा छन् । उनका निकतटम प्रतिद्धन्द्धी एमालेका गुप्ताले ४ हजार ९ सय १८ मत ल्याएर पछ्याइरहेका छन् । पौडेल र गुप्ता बीचको मतान्तर १ हजार ३ सय ४२ छ । जबकी यो ठूलै मतान्तर हो ।
कांग्रेसका उम्मेद्वार सिंह तेस्रो स्थानमा रहेपछि यी दुई भन्दा पुछारमा छन् । उनले ३ हजार ५ सय ९१ मत पाएका छन् ।
कपिलवस्तु नगरपालिकामा जसपाको राम्रो संगठन छैन् । बृजेश कुमार गुप्ता जस्ता वरिष्ठ नेता एमालेमा लागेपछि मधेस केन्द्रीत दलमै विरासत कायम गरेको जसपा यहाँ कमजोर छ । यद्यपि पौडेलको आगमन र उनले पाएको मतले सिंगो जिल्लाबासीको ध्यान यता खिचेको छ ।
अब बाकीँ ६ वडाको मत परिणाम आउन बाँकी छ । यी वडामा कस्को पक्षमा मत आउँछ अहिल्यै आकंलन गर्न सकिदैन् । किनकी कांग्रेस, एमालेका पकड भनिएका क्षेत्रमा नै पौडेलले मत ल्याएपछि यी वडामा पनि उस्तै हुने सम्भावना छ । मधेसी, पहाडी समुदायको मिश्रित बसोबास रहेको यो नगरमा दुवै समुदायको मन पौडेलले राम्रै जितेका छन् । वडामा पार्टीलाई नै भोट हालेपनि मेयरमा पौडेल आम मतदाताको रोजाईमा परेका छन् ।
प्रतिक्रिया