९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

शिवराजमा राप्रपाका थापा अगाडी बढेको बढै, अरुलाई भेटाउन मुस्किल



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको शिवराज नगरपालिकामा अनपेक्षित रुपमा राप्रपाबाट मेयरका उम्मेद्वार बनेका अजय थापाले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

११ वडा रहेको शिवराजमा ठूला दलहरुको वर्चश्व रहेको भनिएका वडामा समेत राप्रपाका थापाले अग्रता लिएका छन् । अनपेक्षित रुपमा थापाले शिवराजबासीको मत पाए पछि उनको मेयरको यात्रा रोक्न प्रतिस्पर्धी दलहरुलाई अब हम्मे हम्मे पर्ने अनुमान छ ।

सोमबार साँझ साढे ६ बजेको मतपरिणाम अनुसार थापाले १५ हजार १ सय १८ मत गणना हुँदा ४ हजार ६६ मत पाएका छन् । उनको निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेद्वार महादेव पोख्रेलले ३ हजार ७ सय ५६ मत पाएका छन् ।

थापाले पाएको मत भन्दा पोख्रेलको मत ३ सय १० ले कम हो । जबकी एमालेले एक्लै दुई वटा वडा जितेको छ । एमालेको पटक मानिएको वडा नं. १ मा एमालेका खिमविक्रम केसी वडाध्यक्षसहितको प्यानलले चुनाव जित्दै गर्दा पोख्रलको भन्दा थापाको मत बढी थियो ।

वडा नं. ३ मा पनि एमालेका टेकलाल सापकोटा भारी मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । यो वडामा पनि एमालेका पोख्रेललाई भन्दा थापालाई बढी मत खसेको छ । अब खासै एमालेका पकड भएका वडा छैनन् ।

नेपाली कांग्रेसले वडा नं. ११ र वडा नं. २ जितेको छ । यी दुवै वडामा पनि थापाले कांग्रेस उम्मेद्वारले भन्दा बढी मत पाएका छन् । वडा नं. १० मा भने थापाले लोसपाका मेयरका उम्मेद्वार रविदत्त मिश्रा भन्दा कम पाए । मिश्राको आधार इलाका मानिने वडा नं. १० मा लोसपाबाट मन्जु मिश्रा वडाध्यक्षमा विजयी भएकी छिन् ।

मतगणनाको सुरुवात देखि नै मेयरमा अग्रता बढाउँदै गएका थापालाई भेट्न अब अरुलाई मुस्लिन हुने शिवराजबासीको आंकलन छ । वडा नं. ४ मा जसपाको राम्रो मत आउने बताइन्छ । जसपाबाट कृष्ण कुमार चौधरी मेयरको उम्मेद्वार छन् । चौधरीले यो वडामा राम्रो मत पाए पनि थापालाई यसले असर गर्ने छैन् । किनकी चौधरीले अहिलेसम्म ८ सय ३३ मत पाएका छन् ।

वडा नं. ५ मा एमाले, समाजवादी र कांग्रेसको राम्रो पकड रहेको मानिन्छ । यद्यपि राप्रपाका उम्मेद्वार पनि यो वडामा बलिया छन् । स्रोतका अनुसार यो वडामा जुनसुकै पार्टीले जिते पनि थापाले सबैभन्दा बढी मत पाउने अनुमान छ ।

वडा नं. ६, वडा नं. ७, वडा नं. ८ मा पनि जसपा, गठबन्धन, कांग्रेस, एमाले र लोसपामा मत बाडिन्छ । एमालेले यी वडामा बढी मत पायो भने मात्र थापालाई खतरा हुन आउँछ । नत्र अरु उम्मेद्वारले मत पाउँदा थापालाई खासै फरक पर्ने छैन् ।

वडा नं. ९ गठबन्धनको आधार क्षेत्र हो । माओवादी केन्द्रको वर्चश्व रहेको यो वडामा मेयरमा कति मत पर्छ यसै भन्न सकिने अवस्था छैन् । नगरभर माओवादी र समाजवादी बीच गठबन्धन भएपनि समाजवादीलाई मेयरमा माओवादी कार्यकर्ताले मतै हालेका छैनन् । गठबन्धन भित्रबाटै कम मत पाएपछि मेयरको जमानत जफल हुने खतरा यहाँ बढेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ७ : ३० बजे