९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

दाङको बंगलाचुलीमा कांग्रेस र माओवादी गठबन्धन विजयी



दाङ ।
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनले विजयी हाँसिल गरेको छ । सोमबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रमुखमा माओवादी केन्द्रका तुलसीराम पुन‘सुवास’ र उपप्रमुखमा कांग्रेसका भक्तबहादुर जीसी विजयी भएका छन् । पुनले दुई हजार ७१ र जीसीले दुई हजार ६ सय ८०मत बढि मत ल्याए ।

निकटतम प्रतिद्वन्दी एमालेबाट अध्यक्षका उम्मेदवार भेषराज खत्रीले तीन हजार ६ सय ७८ मत प्राप्त गर्दा पुनले पाँच हजार ७ सय ४९ मत ल्याएर विजयी भएका हुन् । उपाध्यक्षमा एमालेका उम्मेदवार सरस्वता कुमारी घर्तीले तीन हजार दुई सय ६५ मत ल्याउँदा जीसीले पाँच हजार नौ सय ४५ मत ल्याए ।

त्यस्तै जनमोर्चाका अध्यक्षका उम्मेदवार अनिता पाण्डेले ५३ र उपाध्यक्षका उम्मेदवार सञ्जय वलीले ५७ मत ल्याएका थिए भने मंगलोनेश्नल अर्गनाईजेशनका अध्यक्षका उम्मेदवार सालिकराम कार्कीले १६ र उपाध्यक्ष गीता कुमारी पुनले १५ मत प्राप्त गरेकी छिन् ।

बंगलाचुलीमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो । त्यस्तै ८ वटा वडामध्ये ४ वडा कांग्रेस र ४ वडा माओवादी केन्द्रले जितेको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसले एउटा र एमालेले एउटा मात्रै वडा जितेको थियो । तर, अहिले कांग्रेसले ३ वटा वडा थप्न सफल भएको छ ।

माओवादी केन्द्रको वडा नं।३ बाट शोभाराम विश्वकर्मा, ५ मा लिलाबहादुर घर्ती, ७ मा गिरबहादुर थापा र ८ मा झविन्द्र गाहा मगरले विजयी हाँसिल गरेका छन् । यी चार वटै वडा पहिले पनि माओवादीले जितेको वडा हुन् । तिमध्ये विश्वकर्मा र थापा पुनः दोहोरिएका छन् ।

त्यस्तै कांग्रेसका वडा नं. १ बाट विष्णु कुँवुर, २ बाट मैते पुन, ४ बाट डाँसबहादुर डाँगी र वडा नं। ६ बाट डोमबहादुर केसी विजयी भएका छन् । वडा नं. १ मात्रै यसअघि कांग्रेसले जितेको थियो । ति मध्ये २ मा माओवादी केन्द्रबाट यसअघि जितेका वडाध्यक्ष मेघराज राणालाई कांग्रेस उम्मेदवार राणाले हराउन सफल भए, भने यस अघि माओवादी केन्द्रले जितेको ४ नम्बर वडामा पनि जित निकाल्न सफल भयो । त्यस्तै एमालेले जितेको ६ नम्बर वडामा पनि कांग्रेसले जित निकाल्न सफल भयो । जहाँ यसअघि एमालेका बेदुलाल घर्तीले जितेका थिए । तर, अहिले तिनै घर्तीलाई कांग्रेसका केसीले हराएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९ सोमबार ००:००  ८ : ३४ बजे