१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उम्मेदवारमाथि हातपात भएपछि गुल्मीको धुर्कोटमा मतगणना अनिश्चित



तम्घास ।

गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ ।

जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन। शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते भएका थिए । झडपमा थापासँगै जैसीथोकका निरञ्जन कुँवर र सञ्जय नेपाली पनि घाइते भएका छन् ।

घाइतेको गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटबल पठाइएको छ। झडपमा सहभागी धुर्कोट रजस्थलका पाँच र गुल्मी दरबार गाउँपालिकाका एक गरी छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। निर्वाचन अधिकृत मुना पौडेलका अनुसार सर्वदलीय बैठक पनि सुरु हुन सकेको छैन ।

मुजुल्कामा हस्ताक्षर गरेका दलहरुबीचमा सर्वदलीय बैठक राख्नुपर्ने भए पनि कांग्रेसबाट प्रतिनिधि नआउँदा बैठक बस्न नसकेको उनले जानकारी दिए। अहिले सर्वदलीय बैठकको प्रयास भइरहेको बताइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९ शनिबार ००:००  ३ : ०४ बजे