१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

बाणगंगाका केही मतदान केन्द्रको ३०० मिटर वरपर मोबाइल र टेन्ट निशेध



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका अन्तर्गतका केही बुथमा निर्वाचनको दिन निकै कडा गरिएको छ । २ दिन पछि हुन लागेको स्थानीय तह निर्वाचनलाई स्वच्छ र धाधलीरहित बनाउनको लागि बुधबार भएको सर्वदलीय बैठकमा निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गर्दै केही महत्वपूर्ण निर्णय भएका छन् ।

वाणगंगा ४ मा रहेको मतदान केन्द्र बाणगंगा मावि गजेहडा र डुङ्गहवाको केन्द्र शान्ति आधारभूत विद्यालयको ३ सय मिटर वरपर मतदाताले मोबाइल लिएर जान नपाउने गरी निर्णय गरिएको डुङ्गहवाका मतदान अधिकृत कृष्णनाथ पाण्डेले बताउनु भयो । उसो त निर्वाचन आयोगले मतदानको दिन देशैभर मोबाइल निशेध गरेको छ ।

नेकपा एमाले, नेपाली काँग्रेस, चार दलीय गठबन्धन, राप्रपा र स्वतन्त्र उम्मेदवारका प्रतिनिधिहरुबीच छलफल भई सबैको सहमतिमा यो निर्णय भएको मतदान अधिकृत पाण्डेले बताउनु भयो । उहाँका अनुसार मतदान केन्द्रको ३०० मिटर वरिपरि कुनै पनि दलले टेन्ट पनि राख्न पाउने छैनन् । यसको लागि सुरक्षाकर्मीले निगरानी बढाउने छन् ।

बाहिर टेन्ट राख्दा मतदाता प्रभावित हुन सक्ने र मोबाइलबाट पनि बिभिन्न अवाञ्छित गतिविधि हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको उहाँले बताउनु भयो । यस अघि भएका निर्वाचनमा घाम छेक्न भन्दै राजनैतिक दलले आफूअनुकुल टेन्ट राख्ने गरेको र यसले भीँड सिर्जना गराउने, मतदाता प्रभावित गर्ने कार्य गरेको पाइएको हुँदा यसपटक मोबाइल र टेन्ट लगाउन निशेध गरिएको बाणगंगाका मतदान अधिकृत लाल बहादुर खड्काले बताउनु भयो । कठिन काम भए पनि यस निर्णयमा राजनैतिक दलले सहमति जनाएर उदाहरण पेश गरेको मतदान अधिकृत खड्काले बताउनु भयो ।

मतदाताले लुकाइछिपाई मतदान केन्द्र भित्र मोबाइल, कागज, प्रज्वलनशिल बस्तु या पदार्थ लगेको पाइए कारबाही गरिने पनि खड्काले बताउनु भयो । यसैगरी वैठकले अपाङ्गता भएका, अशक्त, बृद्धवृद्धा, गर्भवती महिलाहरुलाई सहुलियत दिइने बताइएको छ । अन्य स्थानका बुथमा पनि यसै अनुकुलका निर्णय भएका मतदान अधिकृतले बताएका छन् ।

No description available.

प्रकाशित मिति : २८ बैशाख २०७९ बुधबार ००:००  ८ : ०६ बजे