१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

लुम्बिनीमा मुलुककै ठूलो ५ हजार सिट क्षमता भएको सभाहल निर्माण पूरा



लुम्बिनी ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको निर्माण ४ वर्षमा पूरा भएको छ । राष्ट्रिय गौरवको लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत अत्याधुनिक सुविधासहितको सभाहल निर्धारित समयमै सकिएको हो ।

३ वर्षमा सम्पन्न गर्ने योजना रहेको हल कोरोनाका कारण एक वर्ष ढिलो भएपछि ४ वर्षमा सम्पन्न भएको हो । मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो ।
उद्घाटनका लागि सबै पूर्वाधार तयारी पूरा भएको निर्माण कम्पनी लुम्बिनी, अर्घाखाँची बाबुल जेभीका साइड इन्जिनियर वसन्त क्षेत्रीले बताए । जेठ २ मा प्रधानमन्त्री शेरबहदुर देउवाले हल उद्घाटन गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त हलबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

५ हजार सिट क्षमता भएको छाता शैलीको हलमा यसअघि गर्मीमा चिसो र जाडोमा तातो हुने प्रविधिसमेत राखिसकिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने ईपीएस प्यानल प्रयोग गरिएको छ । मेन्टेनेन्स फ्री गर्न पिलरमा समेत मोज्याक लगाइएको क्षेत्रीले बताए । ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४ सय ७६ वटा बत्ती जडान गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९ बुधबार ००:००  २ : ४१ बजे