१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

मायादेवी गाउँपालिकाका बलिया उम्मेद्वार फैजल खाँन



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) बाट मायादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेद्वार बनेका फैजल खाँन अन्य दलका बलिया प्रतिस्पर्धी रहेका छन् ।

पार्टी विभाजनमा माधव कुमार नेपाल तिर लागेका खाँन मायादेवी गाउँपालिकामा पार्टी स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख नेता पनि हुन् ।

युवा नेता समेत रहेका खाँन गएको प्रदेशसभा निर्वाचनमा तत्कालिन बामगठबन्धनबाट उम्मेद्वार बनेर कमै मतले पराजित भएका थिए ।

चुनाव हारेपनि निरन्तर विकास निर्माणमा सक्रिय खाँन आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

पालिका भित्र रहेका ८ वटा वडा मध्ये अधिकांश वडा जित्ने एकीकृत समाजवादीको दाबी छ । एमाले भन्दा बलियो देखिएको मायादेवीमा समाजवादीले एक्लै प्रतिस्पर्धा गरेको छ ।

कतिपय वडामा निवर्तमान वडाध्यक्ष उम्मेद्वार बनेका कारण अध्यक्षमा फैजलको सम्भावना बलियो देखिएको हो ।

पालिका उपाध्यक्षमा युवा नेतृ माधुरी अग्रहरीको उपस्थिति पनि यहाँ दरिलो छ । समाजवादीले युवा नेतासंगै मुस्लिम र हिन्दु समुदायबाट उम्मेद्वार उठाएपछि सामाजिक सद्भाव यहाँ बलियो देखिएको छ ।

यहाँ धार्मिकताको मुद्धा उचालेर चुनाव जित्ने एउटा समूह छ । समाजवादीको उम्मेद्वारीले यो मुद्धा उचाल्ने समूह अहिले कमजोर भएको छ ।

सबै वडामा घरदैलो सकाएर खाँन अहिले पनि जनताको गुनासो सुन्न घरदैलोमै पुगिरहेका छन् ।

एमाले भन्दा बलियो देखिएको मायादेवीमा समाजवादीसंगको प्रतिस्पर्धामा जसपा नेपाल र नेपाली कांग्रेस रहेको छ । जसपाले यहाँ ०७४ सालमा अध्यक्ष जितेको थियो । कांग्रेस पनि यहाँ चुनाव जित्ने दाउमा छ । यद्यपि टिकट वितरणमा अन्याय भएको भन्दै कतिपय प्रभावशाली व्यक्तिले पार्टी छाडेका छन् ।

खाँन राजनीतिमा सक्रिय हुनुपूर्व नेपाली क्रिकेटमा व्यस्त थिए । नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खाँन यू-१९ का राष्ट्रिय खेलाडी हुन् । सन् २०११ देखि अन्तर्राष्ट्रिय खेल खेल्न थालेका उनी सन् २०१६ सम्म नेपालको प्रतिनिधित्व गर्दै खेलेका थिए ।

सन् २०११ मा थाइल्याण्डमा सम्पन्न यू-१९ एसीसी ट्रफी प्रतियोगीतामा ओमान विरुद्ध शतकीय इनिङ्स खेलेपछि उनको चर्चा चुलिएको थियो । उनले सन् २०१२ मा मलेसियामा सम्पन्न एशीयन कप क्वालिफाइङ प्रतियोगीता समेत खेलेका थिए ।

प्रकाशित मिति : २७ बैशाख २०७९ मंगलबार ००:००  ९ : ३१ बजे