काठमाडौं ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र छाप्न शुरु गरेको छ । गृहसचिव टेकनारायण पाण्डेले सिंहदरबारस्थित विभागको कार्यालयमा परिचयपत्र छपाइ कार्यक्रमको शुभारम्भ गरेका हुन् । फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टीटी कम्पनीबाट परिचयपत्रका लागि आवश्यक कार्ड ल्याएपछि सोमबारबाट छपाइ शुरु गरिएको विभागका महानिर्देशक तिर्थप्रसाद भट्टराईले बताए । विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको छ । ८ लाख कार्ड आउने प्रक्रियामा रहेको महानिर्देशक भट्टराईले जानकारी दिए ।
विभागका अनुसार यसवर्ष ५० लाख कार्ड आपूर्ति गर्ने लक्ष्य राखिएको छ । मेसिनले घण्टामा ११ सयवटा कार्ड प्रिन्ट गर्छ । विभागले राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन गरिरहेको छ । इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, खोटाङ, ओखलढुङ्गा र उदयपुरसहित ३१ जिल्लामा परिचयपत्रको अभियान सम्पन्न गरिएको छ । त्यस्तै ३३४ स्थानीय तह र तीन हजार ४५ वडामा अभियान सम्पन्न गरिएको महानिर्देशक भट्टराइले बताए ।राष्ट्रिय परिचयपत्रको Service Integration मा राहदानी विभागसँग System Integration भई राष्ट्रिय परिचयपत्रमार्फत e–Passport लागू भइसकेको छ ।
प्रतिक्रिया