९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमाले बाणगंगा ६ को प्रतिबद्धताः अधुरा योजना पुरा देखि उज्यालो वडासम्म



कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ को विकास र सम्बृद्धिका लागि नेकपा एमालेका उम्मेद्धारहरुलाई जिताउन मतदातासंग आग्रह गरेका छन् । वडा अध्यक्षका उम्मेद्धार सुकदेव थारुले आफु पुन निर्वाचित भएपछि वडामा यस अघिका कार्यकालमा महत्वपूर्ण अधुरा योजना पुरा गर्ने र नयाँ योजना कार्यान्वयन गर्ने गरी वडालाई समृद्ध बनाउने प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

“कृषिमा आधुनिकीकरण, पशुपालन र पर्यटनको विकास, हाम्रो वडाको समृद्धिको आधार” भन्ने नाराका साथ वडा अध्यक्षका उम्मेद्धार थारुले वडाको समुन्नत विकासका लागी कृषि, पशुपालन, भौतिक पूर्वाधार तथा शिक्षा, स्वास्थ्य, पर्यटन लगाएतका विषयलाई समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

वडाभित्र रहेका साँगुरा बाटोको स्तरोन्नती गरी कालोपत्रे गर्ने, अन्य सडकहरु कालोपत्रे गर्ने, विद्युतको पहुँच विस्तार गरी १ वर्ष भित्र वडालाई उज्यालो वडा घोषणा गर्ने लक्ष्य छ । यस्तै वडालाई खरको छानोमुक्त वडा बनाइने प्रतिबद्धता पत्रमा उल्लेख छ । नदी कटान क्षेत्रलाई नियन्त्रण गर्ने, लक्ष्मणघाट भगलापुर घाटको शवदाह स्थललाई व्यवस्थित गराउने योजना अघि सारिएको छ ।

वडाभित्र बैंक तथा वडा प्रहरी कार्यालय स्थापना, संघीय तथा प्रदेश सरकारसँग समन्वय गरी भत्किएको बैदौलीको पुल निर्माण कार्य तत्काल अगाडी बढाइने पनि उल्लेख छ । स्वास्थ्य उपचारमा सहज पहुँचको लागि एम्बुलेन्सको व्यवस्था तथा सुत्केरी महिला एवं ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने भनिएको छ भने वडा वासीहरुलाई स्वच्छ एवम् सुरक्षित पिउने पानीका लागि एकघर एक धाराको अभियान पुरा गर्ने समेत प्रतिबद्धता पत्रमा भनिएको छ । वडा अध्यक्षका उम्मेद्धार थारुले वडाको विकासका लागि अझै एकपटक मत दिएर जिताउन आग्रह गरेका छन् । निर्वाचनका बेला आफुले बोलेका कुरा काम गरेर देखाउने भन्दै उनले वडाको विकासका लागि आफु प्रतिबद्ध रहेको समेत दाबी गरेका छन् ।

कम भोल्टेज भएका स्थानमा थ्रिफेज तथा ट्रान्सफर्मर जडान गरिने, वडालाई वडाभित्र रहेको सार्वजनिक जग्गाको अतिक्रमणवाट जोगाई संरक्षण गर्ने, वडा भित्रका मुख्य चोक तथा बुद्ध मार्गमा सिसिटिभि जडान गरिनेछ । लक्ष्मणघाट बाँध देखी झुलनीपुर गाउँसम्म सिंचाई कार्यालय समन्वय गरी वाटो कालो पत्रे गर्ने संघीय सरकार तथा प्रदेश सरकार समक्ष गरिने उल्लेख गरिएको छ ।

प्रतिवद्धता पत्रमा वडा भित्र मुख्य सडकमा नालि निर्माण गरिने, नगर बस सञ्चालन गर्नको लागि नगरपालिकासँग समन्वय गरिने, वडा भित्र रहेका बैदौली पुल, लक्ष्मणघाट पुल तथा झुलनीपुरमा जोखिमपूर्ण अवस्थामा रहेका पुल निर्माणका लागि संघीय सरकार तथा प्रदेश सरकार संग पहल गरिने राखिएको छ ।

लक्ष्मणघाट माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्न पहल गर्ने तथा उच्च शिक्षा अध्ययन गर्ने गरिब, जेहेन्दार, विपन्न, दलित, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ । ज्ञानोदय आधारभुत विद्यालय सुठौलीको गुणस्तर सुधार गरी मध्यमिक तह सम्म सञ्चालन गरिनेछ ।

साप्ताहिक हाट बजार, कला संस्कृतिको संरक्षण, विकास एव संरक्षणका लागि लक्ष्मणघाट बोलबम धाममा “कपिलवस्तु सांस्कृतिक संग्राहालय” निर्माण गरिने र आदिवासी जनजातिको संस्कृतिको जगेर्ना गर्नको लागि प्रत्येक गाउँको डहरचन्नी र दिवारलाई संरक्षण तथा व्यवस्थित गरिनुका साथै थारु भाषा संस्कृतिको संरक्षण गरिने लगायतका प्रतिवद्धताहरु उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९ आइतबार ००:००  ७ : २७ बजे