भैरहवा ।
लुम्बिनी विकास कोषले २५६६ औँ बुद्ध जयन्ति भब्यताका साथ मनाउने जनाएको छ । आज लुम्बिनीमा कोषद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ति वैशाख डे र लुम्बिनी दिवस भव्य रुपमा मनाउने जनाएको छ ।
बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्ति औपचारिक कार्यक्रम जेष्ठ १ गते देखि ४ गते सम्म गरि मनाइने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । यसको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेको संयोजकत्वमा मूल समारोह समिति गठन भई त्यस अन्तरगत विभिन्न उपसमितिहरु क्रियाशिल रहेको शाक्यले बताए ।
विश्वमा विगत २ वर्ष देखि फैलिएको कोरोना महामारीको कारण हामीले बुद्ध जयन्ति उल्लासपूर्वक मनाउन पाएका छैनौ ।ू सदस्य सचिव शाक्यले भने कोरोना महामारीको प्रभाव न्यून हुदै गएको यस अवस्थामा यस वर्षको बुद्ध जयन्तिलाई विशेष रुपमा मनाउने लुम्बिनी विकास कोषले निर्णय गरेको छ । लुम्बिनीमा निर्माणा सम्पन्न भएको ५ हजार क्षमताको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्र हलको बुद्ध जयन्तिकै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
२५६६ औ बुद्ध जयन्तिकै अवसरमा जेष्ठ १ गते रामग्राम देवदहमा विशेष कार्यक्रम तथा दीप प्रज्वलन एवम देवदहको भवानीपुरमा बिहान बौद्ध पुजा तथा दिप प्रज्वलन गरि मनाइदै छ । रामग्राम नवलपरासीमा १ जेष्ठ सांझ ४ बजेबाट बौद्ध प्रवचन तथा दिप प्रज्वलन, २ गते रामग्राम नगरपालिकाद्वारा रामग्राम दिवस, भोजनदान सम्बन्धी कार्यक्रम रहेको छ । जेष्ठ २ गते विहान ६ बजे मायादेवी परिसरमा बुद्ध पूजा तथा परित्राण पाठ विहान ७ बजे मायादेवी परिसर देखि शान्ति दिप सम्म शोभा यात्रा, विहान ९ बजे प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलको उदघाटन गरिनेछ ।
यस्तै विहान १० बजे देखि इष्ट मोनाष्टिक जोनको कम्बोडिया मोनाष्ट्रि र इष्ट पोण्डमा भोजन दान, दिउँसो २ बजे अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान हलमा २५६६ औं बुद्ध जयन्ति समारोह प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा तथा विशिष्ट अतिथिहरुको उपस्थितिमा विशेष समारोह गरि मनाइने शाक्यले बताए । यस्तै दिउसो ५ बजे देखि सोही हलमा सुरसुधाको सांगीतिक कार्यक्रमको प्रस्तुति, सांझ लुम्बिनीको मायादेवी परिसरमा दिप प्रज्वलन गरिने कार्यक्रम छ ।
प्रतिक्रिया