मायादेवी अनलाइन, वाणगंगा ।
आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बुद्धभूमि नगरपालिकाको नेपाली कांग्रेस दुई खेमामा विभाजित भएको छ ।
टिकट वितरण र आन्तरिक गुटबन्दीको भूमरिमा फसेको बुद्धभूमिको कांग्रेस दुई भागमा विभाजित मात्र होइन्, कतिपय प्रभावशाली नेता पार्टी छाडेर नेपाली कांग्रेस (विपि)मा लागेका छन् ।
विपि कांग्रेस लाग्नेमा प्रभावशाली नेताहरु विरेन्द्र मिश्रा, नारायण खनाल, पदम खनाल, अनिल घिमिरे लगायत छन् । उनीहरुले सिंगो नगरमा आफ्ना उम्मेद्वारी खडा गरेर चुनावी प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन् ।
कांग्रेस विपिबाट बुद्धभूमि नगरपालिकाको मेयरमा अनिल घिमिरे उठेका छन् । उनी बालकृष्ण घिमिरेका छोरा हुन् । साविक महेन्द्रकोट गाविसका प्रभावशाली नेता रहेका बालकृष्णलाई ०५७ सालमा तत्कालिन नेकपा (माओवादी)ले हत्या गरेको थियो ।
युवा नेता समेत रहेका अनिल कांग्रेसबाट क्षेत्रिय सचिव भएर काम गरेको अनुभव छ ।
यस्तै कांग्रेस विपिबाट बुद्धभूमिमा ५ वडामा उम्मेद्वार उठेका छन् ।
वडा नं. ५ मा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख रहेका नारायण खनालले आफ्नी श्रीमती मीना खनाललाई वडाध्यक्षको उम्मेद्वार बनाएका छन् । साविक हरिहरपुर गाविसमा ०५४ सालको अध्यक्ष भएर काम गरेका खनाल हरिहरपुरका प्रभावशाली नेतामा पर्छन् । जिससको प्रमुख भएर ५ बर्ष विताएका खनालले कांग्रेसबाट विद्रोह गरेका हुन् ।
यस्तै वडा नं. १ मा कांग्रेस विपिले दिनेश थारुलाई वडाध्यक्षका रुपमा खडा गरेको छ । विरेन्द्र मिश्रा रहेको यस वडामा वडाध्यक्ष थारुसंगै खुल्ला सदस्यमा टेकलाल बेल्वासे, हिमलाल आचार्य, महिला सदस्यमा देवकला आले र दलित महिला सदस्यमा विन्ती चमई उमेद्वार बनेका छन् ।
मिश्रा ०५४ सालको साविक महेन्द्रकोट गाविसका अध्यक्ष समेत भएका नेता हुन् ।
वडा नं. ४ मा विन बहादुर बन्जाडे वडाध्यक्षमा उठेका छन् भने, वडा नं. १० र वडा नं. ६ मा पनि विपि कांग्रेसले उम्मेद्वार उठाएको छ ।
करुवा चुनाव चिह्न रहेको कांग्रेस विपि कपिलवस्तुमा नगन्य अवस्थामा थियो । तर, टिकट वितरणमा असन्तुष्टि बढेपछि कांग्रेस नेताहरुले चुनावमा विकल्पको रुपमा कांग्रेस विपि रोजेका हुन् ।
नेता मिश्राले बुद्धभूमिमा आफुहरुको प्रभाव बलियो रहेको बताउँछन् । वडा नं. १ र वडा नं. ८ मा वडाध्यक्ष जित्ने उनले दाबी गरे । ‘वडा नं. १ र वडा नं. ८ मा चुनाव जित्ने अवस्थामा छौं, नेता मिश्राले भने, ‘अरु वडामा पनि कडा टक्कर छ । जनताको समर्थन बलियो पाएका छौं । हामी खुसी छौं ।’
गएको ०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर, उप–मेयरसहित बहुमत वडा जितेको नेपाली कांग्रेसलाई यो निर्वाचनमा चुनाव जित्न त्यति सहज छैन् । यद्यपि कांग्रेसबाट मेयर पदका उम्मेद्वार केशवकुमार श्रेष्ठ नगरका लोकप्रिय नेता हुन् । ५ बर्षे कार्यकालमा नगरमा राम्रो काम गरेका उनले नगरबासीमा गहिरो छाप पारेका छन् । चुनाव जित्ने ढुक्क जस्तो बनेका श्रेष्ठ भने घरदैलोमा व्यस्त छन् ।
०७४ सालमा १ सय ३७ मतले एमाले बुद्धभूमिमा मेयर पदमा हारेको थियो । यो निर्वाचनमा चुनाव जित्ने गरी एमाले लागेको छ । पार्टी फुटको असर ठूलो रुपमा नदेखिएको बुद्धभूमिमा टिकट वितरणमा सामान्य असन्तुष्टि भएपनि ठूलो छैन् । यो निर्वाचन जसरी पनि जित्ने दाउमा एमाले छ । बुद्धभूमिमा कांग्रेस र एमाले बीच मात्र प्रतिष्पर्धा हो ।
पार्टी भित्र अन्याय हुँदा ३५ बर्ष लगानी गरेको पार्टी छाडे
कांग्रेस छाडेर कांग्रेस विपि रोजेका नेता विरेन्द्र मिश्राले पार्टीले सौतेलो व्यवहार गर्दा बाध्य भएर पार्टी छाड्नु परेको बताए । गएको निर्वाचनमा मेयरमा उठ्छु भन्दा सुरेन्द्रराज आचार्यले विधायकमा टिकट दिन्छु भनेर सहमति गरे, तर त्यति बेला पनि टिकट नदिएर अन्याय भएको बताए ।
अहिले पनि अन्तिमसम्म टिकट दिने आचार्यले बताए पनि अन्तिममा धोका दिएको उनले जनाए । ३५ बर्षसम्म पार्टीमा अनवरत लागे पनि पार्टीबाट अन्यायको अन्याय भए पछि विकल्पको रुपमा कांग्रेस विपिमा लागेको उनको भनाई छ ।
चुनाव पछि कसरी अगाडी बढ्नेबारे अहिले सोचि नसकेको उनले जनाए । ‘पार्टीले जहिल्यै अन्याय गर्यो । ०७४ को चुनावमा मेयरमा टिकट दिइएन । प्रदेशमा टिकट दिने सहमति थियो, त्यति बेला पनि धोका दिइयो । यो निर्वाचनमा पनि मेयरका उम्मेद्वार पदम खनाल मुक्ति भट्टराईको समर्थन लिएर आए टिकट दिन्छु भनियो मलाई यी दुवै नेताले समर्थन गरे तर टिकट दिइएन, उनले मायादेवीसंग भने, ‘यसरी सधैं धोका मात्र दिने, सौतेलो व्यवहार गर्ने प्रवृत्ति विरुद्ध विद्रोह गरेका हौं ।’
नेता मिश्राले बुद्धभूमिमा ०७४ सालका सबै जनप्रतिनिधिलाई पुनः दोहोर्याउने काम भएको बताए । नयाँलाई अवसर दिऔं भन्दा नेतृत्वले नमान्दा पार्टी भित्र ठूलो विद्रोह हुन पुगेको उनको भनाई छ ।
प्रतिक्रिया