१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वाणगंगा नगरका चार जना उप-मेयर प्रत्यासीका आ–आफ्ना चुनावी एजेण्डा



मायादेवी अनलाइन, वाणगंगा ।
आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकाको उप-प्रमुखमा चार जना चुनावी मैदानमा उत्रिएका छन् ।

विभिन्न पार्टीबाट गरि चार जना उप-प्रमुखको दौडमा दौडिरहदा सबैका आ-आफ्ना चुनावी प्रतिवद्धता छन् ।

कपिलवस्तु जेसिजले शनिबार जितपुर चारनम्बरमा राखेको ककस कार्यक्रममा बोल्दै उप-प्रमुखका उम्मेद्वारहरुले आ- आफ्ना प्रतिवद्धता सुनाएका हुन् । चुनाव जिते पछि गर्ने कामको सन्दर्भमा उनीहरुको वाणगंगाबासी समक्ष आफ्ना कुरा राखेका छन् ।

नेकपा (एमाले)बाट उप-प्रमुखको उम्मेद्वार रिता थारुले समाजसंगै रहेर निरन्तर काम गरेको अनुभव आफु संग रहेको भन्दै आसन्न निर्वाचनमा वाणगंगाबासीले मत दिएर जिताउनेमा विश्वास व्यक्त गरेकी छिन् । एमालेले घोषणापत्रमा थुप्रै विषय उल्लेख गरेको भन्दै ती कार्यान्वयनमा आफुहरु लाग्ने उनको भनाई छ । जनताका आधारभूत आवश्यकतालाई समेटेर घोषणापत्र बनाइएको भन्दै त्यसलाई हेर्न उनले आग्रह गरिन् ।

नेपाली कांग्रेसबाट उप-प्रमुखको उम्मेद्वार बनेकी तारावती चौधरीले ५ बर्षे कार्यकालमा आफु जिल्ला समन्वय समितिको उप- प्रमुख भएर काम गरेको अनुभव रहेको भन्दै अब वाणगंगाको विकासमा त्यो अनुभवलाई सदुपयोग गर्ने बताइन् । चुनाव जितेको खण्डमा वाणगंगामा पछाडी पारिएका वर्ग र जातिको उत्थान आफ्नो प्राथमिकता हुने उनले जनाइन् । विकास निर्माणको सन्दर्भमा पनि आफ्नो लगाव उत्तिकै हुने उनको प्रतिवद्धता छ ।

चार दलिय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उप-प्रमुखका उम्मेद्वार कमल भट्टराईले नागरिकको अवस्था फेर्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताए । अझै पनि तमाम समस्या विद्यमान रहेको भन्दै वाणगंगालाई भ्रष्ट्राचारमुक्त नगर बनाउन आफ्नो जोड रहने उनले जनाए । जनताका आभारभूत आवश्यकता नै पूरा नभएको भन्दै आफुहरुले चुनाव जिते ती समस्या समाधान गर्ने उनले प्रतिवद्धता जनाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उप-प्रमुखको उम्मेद्वार बनेका दिल्लीराम शर्माले हिन्दु राष्ट्र कायम गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताए । जनताको अहिलेको व्यवस्थाले निरासा मात्र ल्याएको भन्दै त्यसको अन्त्य गर्दै संबैधानिक राज संस्था चुनावी एजेण्डा रहेको उनले जनाए । भ्रष्ट्राचारको प्रश्नमा पनि आफुहरु उत्तिकै सजक रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७९ शनिबार ००:००  १० : ३२ बजे