१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

घोषणापत्र लेख्ने मात्र नभई हुवहु लागू हुने खालका बनाऔंः मेयरका प्रत्यासी अर्याल



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगा नगरपालिकामा चार दलिय गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका नगर प्रमुख पदका उम्मेद्वार देवराज अर्यालले घोषणपत्र केवल लेख्नकै लागि मात्र बनाउन नहुनेमा जोड दिएका छन् ।

आसन्न बैशाख ३० को स्थानीय तह निर्वाचन केन्द्रीत कपिलवस्तु जेसिजले शनिबार जितपुर चारनम्बर चोकमा राखेको ककस कार्यक्रममा बोल्दै नगर प्रमुखका प्रत्यासी अर्यालले घोषणापत्र हुवहु कार्यान्वयन गर्न सकिने खालका बनाउनुपर्ने बताए । वाणगंगामा चार दलिय गठबन्धनले आफुले गर्न सकिने काम मात्र घोषणापत्रमा उल्लेख गरेको उनले जनाए ।

साथै उनले जनताको बीचमा धेरै सपना बाडिए पनि त्यो पूरा हुन नसक्दा निरासा मात्र छाएको बताए । विभिन्न राजनीति परिवर्तन भएपनि जनताको अवस्था नफेरिएको भन्दै अब अवस्था फेर्नका लागि चुनावी मैदानमा आफुहरु उत्रिएको उनले जनाए । राजनीति परिवर्तनले केहीँ गरेन भन्ने होइन् तर, सोचे जस्तो काम हुन नसकेको भने साँचो कुरा भएको उनको तर्क थियो ।

शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण लगायतको सन्दर्भमा लगभग सबैका कुरा मिल्ने खालका भए पनि आफुहरुले नगर बस सञ्चालन गर्ने गरी घोषणापत्र ल्याएको बताए । टाढा टाढाका जनतालाई यातायातको असुविधा रहेको भन्दै नगर बस सञ्चालनले त्यसलाई सहज बनाउने उनको तर्क थियो ।

चारनम्बर चोकमा आकाशे पुलको अवधारणा पनि आफुहरुले ल्याएको उनले सुनाए । गाडीको चाप बढेसंगै चारनम्बर चोकमा यसको आवश्यकता देखिएको उनको भनाई थियो ।

वाणगंगा नगरपालिकामा समानुपातिक विकास हुन नसकेको भन्दै वर्तमान नेतृत्वको उनले ध्यानाकर्षण गराएका छन् । पटनाको विकास अत्यन्तै पछाडी परेको भन्दै त्यहाँ किन विकास भएन भनेर उनले प्रश्न गरेका छन् । विजुलीका पोलहरु बाँसका भएको भन्दै बाटोघाटोको पनि उस्तै समस्या त्यहाँ भएको उनले यर्थाथ चित्र प्रस्तुत गरे ।

नगरका तल्लो बर्गका नागरिकको अवस्था फेर्नका लागि आफुहरु गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको भन्दै गठबन्धनका सबै साझा उम्मेद्वारहरुलाई भोट दिएर जिताउन उनको आग्रह थियो ।

प्रकाशित मिति : २४ बैशाख २०७९ शनिबार ००:००  १० : ०७ बजे