१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बाणगंगा नगरको विकासको जिम्मा एमालेको : एमाले उपाध्यक्ष पौडेल



मायादेवी अनलाइन, जितपुर ।

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बुटवल देखी गोरुसिंगे सम्मको ५० किमि आधुनिक सडक निर्माणका लागि एसियाली विकास बैंकसंगको समन्वयमा डिपिआरको काम सम्पन्न भएको र केही समयमै विश्व बैंकको सहयोगमा टेन्डर आह्वान हुने बताउनुभएको छ ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका पौडेलले आफु अर्थमन्त्री हुदा सो सडकको अगुवाई गरेको दावी गर्नुभयो । नेता पौडेलले सुकुम्बासी समस्या, अब्यवस्थित बसोवासीको समस्या एमालेको नेतृत्वको बन्ने आगामी सरकारले स्थायी रुपमा समाधान गर्ने दावी गर्नुभयो । उपाध्यक्ष पौडेलले जनप्रतिनिधीले जनताको सेवकको रुपमा काम गर्ने बताउदै र वाणगंगाको विकास एमालेको जिम्मेवारी हुने दावी गर्नुभयो । नेता पौडेलले गठबन्धन रोइरहेको बताउदै जनाधार भएको एमालेले देशब्यापी रुपमा महानगरपालिका, उपमहानगरपालिका र पालिकाहरुमा सानदार विजयी हासिल गर्ने दावी गर्नु भयो । नेता पौडेलले नेकपा (एमाले) बाणगंगा निर्वाचन परिचालन कमिटीद्धारा बनगाईमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

नेता पौडेलले नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सचिवालय सदस्य एवम् अखिल नेपाल जनस्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य डा. धर्मराज भट्टराई सहितका विभिन्न पार्टी परित्याग गरी १ सय १ जनालाई एमालेमा पार्टी प्रवेश गराउनु भएको थियो ।

नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले ७ वटा गाविस मिलेर निकै कमजोर भौतिक पूर्वाधारको अवस्थामा नगरपालिका बनेको चर्चा गर्दै ५ वर्षको अवधीमा आफुहरुले २ सय बढी सडक कालो पत्रे सडक, ३ सय वढी ग्रावेल सडक, विद्यालय भवन निर्माण, स्वास्थय चौकीका भवन निर्माणको काम भएको बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले विगतमा नगरपालिकाका लागि आवश्यक ऐन कानून निर्माण गरिएको, सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको चर्चा गर्दै यस अवधीको सिकाईबाट नगरलाई उत्कृष्ट नगरपालिकाको रुपमा लैजाने दावी गर्नु भयो ।

नव प्रवेशी डा. धर्मराज भट्टराईले वर्तमान समयको आवश्यकता एमाले पार्टी नै रहेको बताउदै छोटो समयमै एमाओवादीबाट ठूलो समूह एमालेमा आउने दावी गर्नु भयो । नव प्रवेशी भट्टराईले एमाओवादीमा आफुले २० वर्ष ब्यतित गरेको दावी गर्दै प्रचण्डको चितवनको सुनावी सभाको भाषण सुन्दा आफुलाई आत्म गलानी भएको तर्क गर्दै छोरी हार्दा देश संकटमा पर्ने भाषण गर्नु निकै लज्जाको विषय भएको दावी गर्नु भयो ।

नेकपा (एमाले) निर्वाचन परिचालन कमिटीका संयोजक विश्राम प्रसाद थारुको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य, कृषि तथा पशुपंक्षि विभाग प्रमुख गिरधारीलाल न्यौपाने, नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारी, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा लगायतका नेता, कार्यकर्ताहरु, एवम् स्थानियतको उपस्थिती रहेको कार्यक्रमको संचालन एमाले बाणगंगा नगर कमिटी सदस्य भिम थापाले गर्नु भएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९ शुक्रबार ००:००  ७ : ०७ बजे