१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गुल्मीको इस्मामा माओवादी फेरि जोडियो गठबन्धनमा



गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिकाको सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै एकल उम्मेदवारी दिएको माओवादी केन्द्र फेरि गठबन्धनमा आबद्ध भएको छ । इस्मामा काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच मात्र तालमेल भएको थियो । काँग्रेसले एकीकृत समाजवादीसँग मात्र तालमेल गरेपछि माओवादी केन्द्रले पालिकाका सबै पदमा उम्मेदवारी दियो ।

काँग्रेसले उम्मेदवारी दर्तापछि माओवादीलाई पनि समेटेर जान तयार हुँदा पाँच दलीय गठबन्धन भएको छ । माओवादी केन्द्र इस्मा गाउँ कमिटी अध्यक्ष बसन्त सुनारले काँग्रेसले माओवादीको आवश्यकता महसुस गरेपछि गठबन्धन मजबुद बनाएर अगाडि बढ्ने निर्णय गरेको बताए ।

इस्मा गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका साझा उमेदवार भगतसिंह खड्काले माओवादी केन्द्रसहितको गठबन्धन बनेपछि जित सहज भएको दाबी गरे । उनले भने, सुरुमा केही कुराहरुमा सहमति जुट्न नसकेका कारण माओवादी केन्द्रसँग तालमेल हुन सकेको थिएन । पछि हामीसँगै रहेर बृहत छलफल गरियो र गठबन्धनलाई बलियो भनाएर लैजाने गरि अगाडि बढिएको हो ।

त्यस पालिकामा गठबन्धनबाट उपाध्यक्षकी साझा उम्मेदवार काँग्रेसकी पार्वती कुँवर रहेकी छन् । उता नेकपा एमालेबाट अध्यक्षमा हिरा एसी र उपाध्यक्षमा बिमला खड्का उम्मेदवार छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेका नेता लक्ष्मण बिष्ट ५ हजार ५५ मत ल्याएर विजयी भएका थिए । निकटतम प्रतिस्पर्धी काँग्रेसका चन्द्रबहादुर महतले ४ हजार मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका दुर्गाचन्द्र बोहराले ६६९ मत ल्याएका थिए । त्यस कारण पनि यसपाली इस्मामा यसपाली पनि कडा टक्कर पर्ने देखिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९ शुक्रबार ००:००  १२ : २४ बजे