रुपन्देही ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले बैशाख २५ गते बुटवलमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने निधो भएको नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताए ।
रुपन्देही जिल्लास्तरीय सभामा हजारौं कार्यकर्ता र एमाले समर्थक मतदाताहरु जुलुससहित सहभागी हुनेछन् । नेकपा एमालेले यसअघि आयोजना गरेका आमसभाहरुमा लाखौं जनता सहभागी हुने गरेकोमा यसपालिको चुनावी सभालाई पनि निकै उत्सुकतापूर्वक हेरिएको छ ।
देवीनगरस्थित खुला मैदानमा आयोजना हुने आमसभामा रुपन्देही जिल्लाका सबै पालिकाबाट एक लाख जनता जुटाउने योजना रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिए ।
एमालेले चुनावी सभाको तयारी सुरु गरिसकेको छ । सवै पालिकाहरुले टोलटोलबाट जनसहभागिताका लागि काम सुरु गरिसकेको बताएका छन् । चुनावी सभालाई अध्यक्ष केपी ओली,उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका नेताहरुले सम्वोधन गर्ने नेकपा एमाले रुपन्देहीका उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले बताए ।
चुनावी सभामा बुटवलका टोलटोलबाट बाजागाजा र झांकीसहित स्थानीयलाई सहभागी बनाउने तयारी एमालेले गरेको छ ।
प्रतिक्रिया