मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा वडा नम्बर ४ मा चार दलीय गठबन्धनबाट आगामी स्थानीय चुनावमा होमिएका उम्मेदवारको अरविन्द केजरीवाल चुनाव शैलीले मतदाता प्रभावित भएका छन् । सयौँ युवालाई झण्डा बोकाएर डिजे, तामझाम र नाचगानसहित अन्य दलले चुनाव प्रचार प्रसार गरिरहेको अवस्थामा गठबन्धनबाट वडा नम्बर चारमाको वडा अध्यक्षमा उम्मेदवार बनेका चन्द्रकान्त न्यौपानेको नेतृत्वको टोलीले गरेको सो चुनाव शैलीलाई जनताले मन पराएका हुन् ।
उनीहरुसंग सवारी साधनको रुपमा विद्यूतबाट चल्ने अटो रिक्सा छ भने उम्मेदवारमात्र भोट माग्न मतदाताकहाँ घरदैलोमा पुग्छन् । न्यौपानेसहित वडा सदस्यहरु विमला श्रेष्ठ, नुर बहादुर राना र रामचन्द्र खनाल दिनभर हिँडेर मतदाताको घरमा पुग्दा केहीछिन् जनता पनि अचम्ममा पर्ने गरेको उम्मेदवारहरु बताउँछन् । भोक लागेमा उनीहरुले कहिले मतदाताकै घरमा त कहिले अटोमै बसेर खाजानास्ता खाने गर्दछन् । निर्वाचन आचारसंहिताको पालना गरेका उनीहरुसंग एक दुईवटा मात्र साना झण्डा रहेका छन् । दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि दिल्लीमा चुनाव जित्दा यस्तै कम खर्चिलो चुनाव शैली अपनाएका थिए ।
वडा अध्यक्षका उम्मेदवार न्यौपानेले भन्नुभयो ‘७४ सालमा चुनिएका जनप्रतिनिधिले ५ बर्षसम्म केके गरे जनताले एकएक हिसाब गरेर राखेका पायौँ । अनावश्यक तामझाम र नाचगानले प्रभावित भएर उनीहरु कसैलाई मत दिने पक्षमा छैनन् । ५ जनाको टोली नमस्कार भन्दै आँगनमा पुग्दा सुरुमा मतदाता अचम्म परे पनि चुनावीशैलीको बारेमा बुझाइसकेपछि भने प्रभावित हुने गरेका छन् । हरेक घरमा हामीले स्याबास् पाइरहेका छौँ ।’ घरमा पुगेपछि हरेक परिवारलाई मतदाता शिक्षाबारे केहीबेर प्रशिक्षण दिइने गरेको न्यौपानेले बताउनु भयो ।
न्यौपानेले तामझामकै कारण कुनै नेताले मत पाउने अवस्था नभएको घरदैलेको क्रममा आफूले पाएको मायादेवीसंग सुनाउनु भयो । जनताले पनि खर्च गरी चुनाव जित्न खोज्ने प्रवृत्तिलाई विसंगति भनेका छन् न्यौपानेले भन्नुभयो विकासमा जनप्रतिनिधिले बिभेद गरेका रहेछन् । जनता आजित छन् । कतिपयले त आक्रोश पनि पोख्छन् । सम्झाएपछि उनीहरु शान्त हुन्छन् । मासिक २५ हजार तलव रहेको वडा अध्यक्ष पदमा पुग्न अहिले लाखौँ खर्च गर्ने, जितेर पदमा पुगेर असुल्ने अनि हारे पागल हुने विकृतिमाथि पनि आफूहरुको यो अभियान भएको न्यौपानेले बताउनु भयो । जहाँ जान्छौँ त्यहाँका जनताले चुनावी शैली मन पराएको वडा सदस्यका उम्मेदवार खनालले बताउनु भयो ।
घरदैलोको बारेमा नियमित फेसबुकमार्फत जानकारी दिने गरेका न्यौपानेले आफ्नो फेसबुकमा पनि लेख्नु भएको छ ‘चुनावी तामझाम र भड्किलोपन भ्रष्टाचारको आरम्भ हो, सबैले बुझौँ । आम आद्मी पार्टी र नेता अरबिन्द केजरिवाललाई आलोचकहरुले त्यति बेला खिसिट्युरी गरे जतिबेला झाडु लगाएर दिल्लीमा सफाई अभियान चलाउदै दिल्ली सरकार प्रमुख बन्ने घोषणाा गरे। काम सानो भए पनि सन्देश र अभियान अनुकरणीय थियो । निरन्तरताको स्वरुप अहिले दिल्ली र पंजाबमा आम आद्मीको सरकार छ भने पार्टी भारतभर विस्तारको क्रममा छ। हामी त्यही सिको गरेका त होईनौँ तर चुनावमा खर्च गर्ने परिपाटी बन्द गरौँ मात्र भन्न खोजेका हौँ । कसैले हाम्रो चुनावी शैलीलाई खिसिट्युरीकै रुपमा बुझ्न सक्छन् र त्यो छुट पनि छ । तर अहिलेका जनता भेँडा पनि छैनन् कि बाजागाजा र नाचगानको तामझाम देखेर अब भोट दिने ।’
यो चुनावशैलीलाई जिल्ला भित्र र बाहिर पनि धेरैले रुचाएका छन् । सरोकारवाला पनि खर्च गरेर चुनाव जित्छौँ भन्ने दलको मनोवृत्ति पनि समय सुहाउँदो नभएको बताउँछन् ।
प्रतिक्रिया