मायादेवी अनलाइन, वाणगंगा ।
तराईको उखरमाउलो गर्मी । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तह चुनावको रमझमीका बीच राजनीति मैदानमा भेटिन्छन् करिष्मा चन्द ठकुरी कुर्मी ।
राजनीति भीँडमा पुरुषको संख्या बढी देखिए पनि वडाध्यक्ष भएर वडाका थुप्रै समस्या समाधान गर्ने अठोटमा करिष्मा दिनरात जनताको घरदैलोमा व्यस्त छिन् ।
कपिलवस्तु नगरपालिका वडा नं. ३ को वडाध्यक्षकी उम्मेद्वार करिष्माले मतदाताको मन कसरी जित्छिन् त्यो हेर्न बैशाख ३० कुर्नु परे पनि उनको उम्मेद्वारीले बाहिरी जनताको मन भने उनले जितिसकेकी छिन् ।
करिष्मा कुनै धनाढ्य परिवारकी होइनन् । न त कुनै राजनीति विरासत धान्नैका लागि वडाध्यक्षमा उठेकी हुन् ।
वडा नं. ३ राजनीतिको विरासत खाइ रहने नेताहरुको बाहुल्यता भएको क्षेत्र हो । व्यापारी, धनाढ्य किसान, विभिन्न पेशामा संलग्नहरु बसोबास गर्ने वडा भएर पनि सोचेजस्तो विकास यस वडामा हुन सकेको छैन् ।
शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली बत्ती र आम सर्वहारा वर्गका समस्या विकराल देखिने यो वडामा उनको उम्मेद्वारी वडा भित्र रहेका चरम समस्यालाई न्यूनिकरण गर्नका लागि भएको करिष्मा बताउँछिन् ।
‘मधेसमा राजनीति गर्न महिलालाई निकै समस्या छ । राजनीतिमा आउनै परे राजनीति विरासत भएको परिवारको सदस्य हुनुपर्छ, म त्यस्तो विरासत बोकेको परिवारको सदस्य होइन्, चन्द भन्छिन्,’ ‘वडामा देखिएका समस्या कसैले समाधान गर्न नसके पछि मैले आँट गरेर वडाध्यक्षमा उम्मेद्वारी दिएकी हुँ ।’
जिल्ला सदरमुकाम भित्रै पर्ने यो वडामा उनको उम्मेद्वारीले एक साहसी महिलाका रुपमा समेत उनलाई सावित गरेको छ।
नेकपा (एकीकृत समाजवादी) बाट उम्मेद्वारी दिएर मत माग्न गाउँबस्तीमा पसेकी चन्द वडाबासीको मन कसरी जित्ने भन्ने कसरतमा उनी छिन् ।
चुनाव सजिलै जित्न नसकिने अहिलेको परिवेशमा चन्दसंग आर्थिक छैन् । न त उनी संगसंगै चुनावी प्रचारमा हिड्ने दलबल सहितको आसेपासे छन् । यद्यपि उनलाई हैसला प्रदान गर्ने गाउँलेहरु भने छन् । भौतिक उपस्थिति भन्दा हैसला नै ठूलो ठानेकी चन्दले आफुले चुनाव जितेरै छाड्नेमा ढुक्क छिन् । वडामा लड्ने उनीसहित ५ जनाको टिम उनीसंग छ ।
सांगठानिक रुपमा एकीकृत समाजवादी यस वडामा त्यति बलियो छैन् । पार्टी निर्माणको ८ महिना नै चुनावमा होमिन परेकाले जति पार्टीमा जोडिएका छन् तिनै साथीहरुको साहराले चुनावी प्रचारमा लागेकी उनी बताउँछिन् ।
वडाको विकासका अलवा उनले कलम चिन्ह प्रति जनतालाई आकर्षित गर्ने र समाजवादको आधार तयार पार्ने गरि राजनीति प्रचार थालेकी हुन् । अखिल नेपाल महिला संघ (समाजवादी)की जिल्ला अध्यक्ष समेत रहेकी चन्द पार्टीको जिल्ला कमिटीमा पनि छिन् ।
पहाडीया समुदायकी चन्दले मधेसी समुदायमा विवाह गरेकी सांस्कृतिक रुपान्तरण गरिसकेकी छिन् । बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा रहेकी उनका श्रीमानले उनलाई राजनीतिमा हौसला थपेका छन् ।
उनी भन्छिन्, ‘श्रीमानको दरिलो साथ मेरो सबैभन्दा ठूलो राजनीति उपलब्धी हो ।’ मधेसी समुदायका महिला खासै राजनीतिमा आउन चासो राख्दैनन् । अझ मध्यम बर्गमा राजनीति प्रतिको बुझाई झनै शूल्य छ । यद्यपि करिष्माको उम्मेद्वारीले त्यसलाई चिर्न ठूलो मद्धत मिलेको छ ।
वडाध्यक्ष करिष्मासंगै वडा नं. ३ मा खुल्ला सदस्यमा नारायण प्रसाद ज्ञवाली, नन्द किशोर यादव, दलित महिला सदस्यमा बुजरमती कोरी र महिला सदस्यमा श्यामकला गुप्ता उम्मेद्वार रहेका छन् ।
प्रतिक्रिया