काठमाडौँ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा फुटेको छ । पार्टीबाट जिम्मेवारीमुक्त धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीको नेतृत्वमा नयाँ पार्टी गठनको तयारी भएको हो ।
असन्तुष्ट पक्षले बुधबारदेखि छुट्टै राष्ट्रिय भेला सुरु गरेको छ । तीनदिनसम्म चल्ने राष्ट्रिय भेला चितवन, पर्साको चैतपुरस्थित एक रिसोर्टमा सुरु भएको छ ।
स्रोतका अनुसार त्यस भेलाले महासचिव विप्लवलाई कारवाही गरेर नयाँ पार्टी घोषणा गर्ने तयारी छ।
धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओलीले बोलाएको राष्ट्रिय भेला आजदेखि चितवनमा सुरु भएको छ,’ स्रोतले भन्यो, ‘देशभरका नेता र कार्यकर्ताको उपस्थिति छ। यो भेलाले महासचिव विप्लवलाई कारवाही गर्नेछ।’
विप्लवलाई कारवाही गरेपछि कसलाई महासचिव बनाउँछन् भन्ने खुलेको छैन।
स्रोतका अनुसार पूर्व डिभिजन कमाण्डर दीपक चलाउने र नेता पूर्णबहादुर सिंह पनि भेलामा सहभागी छन्। चलाउने केही समय विप्लवनिकट थिए।
चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने विषयमा विवाद भएको थियो।
चुनावलाई उपयोग गर्नुपर्ने योजनासहित महासचिव विप्लवले ल्याएको राजनीतिक प्रतिवेदन नै फेल भएपछि परिमार्जन गरेर चुनावमा सक्रिय सहभागी नहुने तर, राम्रा उम्मेदवालाई समर्थन गर्न सकिने निर्णय गरेर बैठक सकिएको थियो।
स्थानीय तहको निर्वाचनमा देशका विभिन्न तहमा स्वतन्त्र उम्मेदवारी परेपछि बैशाख १२ गते धर्मेन्द्र बास्तोलाले विज्ञप्ती जारी गरी मनोनयन दर्ता फिर्ता लिन आग्रह गरेका थिए।
पार्टीको हित र निर्णयविपरीत विज्ञप्ती निकालेको भन्दै वैशाख १३ गते विप्लवले बाँस्तोला र वली दुवै नेतालाई कारवाही गरी पदमुक्त गरेका थिए।
पदमुक्त दुवै नेताले नयाँ पार्टी गठनको तयारी थालेका थिए। त्यहीअनुसार राष्ट्रिय भेला भइरहेको हो। भेला शुक्रबारसम्म हुने बताइएको छ। ।
प्रतिक्रिया