चितवन ।
कुखुरा पालनको राजधानीका रूपमा चिनिएको चितवनमा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्ड फ्लु देखापरेको छ । माघ २८ गते पहिलो पटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्ड फ्लु अहिले जिल्लाभरि नै फैलिएको हो ।
अहिलेसम्म बर्ड फ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार तीन सय १२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा। प्रभाष न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ब्रोइलर ६ सय ४६, कडकनाथ आठ सय ९६, ३५ वटा हाँस नष्ट गरिएको छ । बर्ड फ्लुका कारण जिल्लामा एक लाख ७८ हजार दुई सय २६ अण्डा, ६२ हजार नौ सय २० किलोग्राम दाना, ५८ हजार दुई सय २० थान क्रेट, ६ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार चार सय ७६ वटा, एक हजार तीन सय ८० वटा गिरीराजको अण्डा, एक हजार पाँच सय थान काटुन, ६ सय ६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।
पूर्वी क्षेत्रमा बर्ड फ्लुको बढी असर देखिएको छ । पछिल्लो पटक खनाल पोल्ट्रीमा बर्ड फ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्ड फ्लु देखिएकामध्ये चितवनको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो । पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमुना काठमाण्डौ पठाइएको उहाँले बताउनुभयो । यो फर्ममा एक लाख २० हजार लेयर्स कुखुरा थिए ।
बर्ड फ्लुले कुखुरा मर्न थालेपछि कतिपय किसानले बजारमा बिक्री गर्दा रोग तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ । सरकारी तवरबाट दिइने राहतको प्रक्रियामा पर्खिँदा कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनका लागि राहतप्रति किसान विश्वस्त हुन नसक्दा कतिपय किसानले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाइ हुन नसकेका कारण रोग फैलिएको हो ।
बाग्मती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा। शरण पाण्डेले केही किसानले सङ्क्रमण देखिन थालेपछि कुखुरा बिक्री गर्दा रोग फैलिएको बताउनुभयो । जैविक सुरक्षामा किसानले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । यो प्रदेशमा सबैभन्दा बढी चितवन र त्यसपछि काठमाण्डौमा बर्ड फ्लु फैलिएको छ । सचिव डा पाण्डेका अनुसार मन्त्रालयले आफ्ना मातहतका कार्यालयमार्फत तीव्र परीक्षण गर्ने काम गरिरहेको र परीक्षण गरेर मात्र ढुवानी गर्न दिइएको र भाइरस रोक्न नसकेमा रोग फैलिरहने भएकाले सबैको साथ र सहयोगबाट मात्र रोग नियन्त्रमा ल्याउन सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया