७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

दाङमा चुनावका लागी तीन हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन



दाङ ।

वैशाख ३० गते हुने पालिका तहको ‍चुनावका लागी दाङमा १ सय ५३ वटा मतदान स्थल रहेका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लामा १ सय ५३ वटा मतदान स्थलमा ४ सय ६१ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

म्यादी प्रहरीसहित तिन हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि भर्ना भएका म्यादी प्रहरीसहित सुरक्षाकर्मीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएको चैतमा जिल्लामा १ हजार ७ सय भन्दा बढी म्यादी प्रहरी छनौट भएका छन् । उनीहरुलाई गएको सोमवार सुरक्षाकर्मी सहित परिचालन गरिएको प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

दाङका दश पालिकाका १ सय ५३ मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले वर्गीकरण गरी त्यसैको आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ । म्यादी प्रहरी सहित नेपाल प्रहरी, सशत्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानबाट समेत कर्मचारी परिचालन गरी आसन्न निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने योजनाका साथ सुरक्षा व्यवस्थापन र परिचालन भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ बैशाख २०७९ बिहिबार ००:००  १२ : ०८ बजे