मुम्बई ।
कोभिड संक्रमणले संकटमा परेको दिल्ली क्यापिटल्सले त्यसलाई भुलाउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा बुधबार पञ्जाब किंग्समाथि नौ विकेटको प्रभावशाली जित निकालेको छ । खेलाडीसहित बुधबार विहानसम्म टिमका छ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
तर यही टिमले उत्कृष्ट बलिङ गर्दै पहिले ब्याटिङ गरेको पञ्जाबलाई १ सय १५ रनमा रोकेको थियो । पञ्जाबले यो कमजोर स्कोरका लागि २० ओभरमा सबै विकेट गुमाएको थियो । दिल्लीका लागि सबै बलरले घातक बलिङ गरे । जवाफमा दिल्लीले जितसम्म पुग्न हतार गर्दै १०.३ ओभरमै एक विकेट गुमाएर १ सय १९ रन बनायो ।
उसका लागि पृथ्वी शले २० बलमा ४१ र डेविड वार्नरले ३० बलमा नटाउट ६० रन बनाए । उनीहरूले ३९ बलमा ८३ रनको साझेदारी गरे र टिमका लागि प्रभावशाली नेट रन रेट कायम राख्न पनि मद्दत गरे । यो जितपछि दिल्लीको छ अंक भएको छ र छैटौं स्थानमा उक्लेको छ । पञ्जाब पनि समान छ अंकमा आठौं स्थानमा झर्यो ।
प्रतिक्रिया