९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु कांग्रेसको १० वटै पालिकामा दाबी, आज गठबन्धन बीच निर्णायक बैठक



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुमा क्रियाशिल सत्तारुढ ५ दलिय गठबन्धनको निर्णायक बैठक आज बस्दै छ । आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा साझा उम्मेद्वार छनौट गर्ने उद्धेश्य अनुरुप ५ दलिय गठबन्धनको बैठक बस्न लागेको हो ।

चैत्रको मध्य साताबाट निरन्तर बैठक बसिरहे पनि अझैसम्म ठोस प्रगति हुन सकेको छैन् । मंगलवार (आज) तौलिहवामा बस्न थालेको बैठकले ठोस सहमति गर्ने नेताहरुको दाबी छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष दधिराम आचार्यले दिउँसो २ बजे तौलिहवामा गठबन्धन दलहरुको बैठक बस्न लागेको बताउनुभयो । पटक पटक बैठक बसेपनि अझै निर्णायक सहमति हुन नसकेको स्विकार गर्दै अध्यक्ष आचार्यले आज रातिसम्म बसेर भएपनि टुंगोमा पुग्नुपर्ने बताउनुभयो ।

यदी ५ दल भित्र सहमति हुन नसके आन्तरिक प्रतिस्पर्धाका लागि खुल्ला रहने गरि बैठकमा सहमतिको सम्भावना रहेको उहाँको भनाई छ ।

यता गठबन्धन भित्रको ठूलो दल नेपाली कांग्रेसले जिल्लाका १० पालिका मै आफ्नो दाबी प्रस्तुत गरेको छ । गठबन्धन दलहरुको बीचको वार्ताको पूर्व सन्ध्यामा आफ्नो पार्टीको धारणा राख्दै नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलाम खाँले जिल्लाका १० वटै पालिकामा कांग्रेसको दाबी रहने बताउनुभयो ।

०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसले ६ पालिकामा जित निकालेको भन्दै त्यो दायाँबायाँ हुन नसक्ने र बाँकी चार पालिकामा पनि आफ्नो दावी रहने खाँको जिकिर छ । यद्यपि जिल्लामा गठबन्धनको आवश्यकता रहेको उहाँले जनाउनुभयो । कतिपय स्थानीय तहका कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९ मंगलबार ००:००  ९ : १६ बजे