९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमाले अध्यक्ष ओली भन्छन्ः चुनाव सारे आन्दोलन हुन्छ



काठमाडौँ ।
सत्तारूढ गठबन्धन स्थानीय तहको वैशाख ३० गतेका लागि घोषित निर्वाचन सार्न लागेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यसो गरिए आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् ।

सोलुखुम्बुको सल्लेरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले निर्वाचन सार्नका लागि सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको समेत बताए । ‘यदि अहिलेको गठबन्धनले चुनाव नगर्ने, चुनाव पर सारेर लोकतन्त्र विथोल्ने, संविधान मास्ने बाटो समात्यो भने चर्को आन्दोलनका लागि तम्तयार रहन सिंगो नेकपा एमाले, जनवर्गीय संगठनलाई आग्रह गर्न चाहन्छु ।’

नेपाली जनतालाई लोकतन्त्रविरोधी षडयन्त्रहरूलाई पराजित गर्नका लागि, जनताले बलिदान दिएर ल्याएको परिवर्तन बचाउनका निम्ति आन्दोलनको आँधिबेहरी ल्याउनका निम्ती आह्वान गर्न चाहन्छु,’ उनले भने, ‘आज पनि, अहिले पनि गठबन्धन यहि षडयन्त्रका लागि काठमाडौंमा, बालुवाटारमा मिटिङ बस्दैछ, चुनाव सार्नका लागि ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव रोक्ने कोसिस नगर्न खबर पठाएको ओलीले बताए । उनले भने, ‘प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु, चुनाव रोक्ने प्रयास नगर्नुस् । उहाँले बुझ्नुहुन्न भने बुझ्ने व्यवहार हामी गर्छौं ।’

सत्तारुढ गठबन्धनले सुरुमा निर्वाचन घोषणा गर्न नै नमानेको र अहिले विभिन्न बहाना बनाएर सार्न खोजिरहेको ओलीको दाबी थियो । ‘अहिलेको गठबन्धन अहिले पनि चुनाव सार्ने षडयन्त्र गरिराख्या छ । चल्ला काढ्छ कि काढ्दैन अण्डा कोरलिराख्या छ । चुनाव सार्ने कोसिसमा छ । अहिले संसद् छैन । अध्यादेश ल्याएर, विप्लवलाई अगाडि सारेर, विप्लवले पार्टी दर्ता गरेको छैन चुनावमा भाग लिन नपाउने हुनुभयो त्यसकारण विप्लवका लागि अलि पर सारौं भन्ने ?’

नेत्रविक्रम चन्दको पार्टी आफू प्रधानमन्त्री रहेको बेला नै १४ महिना अगाडि शान्तिपूर्ण राजनीतिमा ल्याएकाले अहिले पार्टी दर्ता पाइन भन्न नपाउने ओलीको चेतावनी थियो । उनको प्रश्न थियो, ‘विप्लवलाई मैले १४ महिना अगाडि खुला राजनीतिमा ल्याएको हो । अस्ति पार्टी दर्ता गर्ने बेला कता जानुभएको थियो ?’

केही व्यक्तिहरूको समूहलाई निर्वाचनमा सहभागी गराउने नाउँमा चुनाव सार्न नमिल्ने ओलीको भनाइ थियो । ‘एउटा पार्टी, पार्टी पनि होइन केही व्यक्तिहरूको झुन्डका लागि, समूहका लागि देशकै निर्वाचन रोक्न मिल्छ ? संविधान कार्यान्वयन नगर्न मिल्छ ? लोकतन्त्र धरापमा पार्न मिल्छ ?,’उनले भने, ‘अहिलेको गठबन्धन विप्लवका लागि होइन आफ्ना लागि विप्लवलाई हतियार बनाएर, विप्लवको नाम लिएर होइन भने विप्लवले हिंसा मच्चाउछन् भनेर निर्वाचन सार्न खोजिरहेको छ ।’ हिंसाबाट पार नलाग्ने भएपछि चन्द शान्तिपूर्ण राजनीतिमा आएको ओलीले स्मरण गराए ।

चन्दलाई सूर्य चिह्न लिएर चुनाव लड्न पनि ओलीले आह्वान गरे । एमालेले साना दलहरूलाई सूर्य चुनाव चिह्न लिएर लड्नका लागि दिइरहेको उनले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९ सोमबार ००:००  ५ : २२ बजे