९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एकीकृत समाजवादीले माग्यो पोखरासहित २ उपमहानगर



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित दुई उपमहानगरको नेतृत्वमा दाबी गरेको छ। सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा पोखरा महानगरलाई एकीकृत समाजवादीले बटमलाइन बनाएको छ।

एकीकृत समाजवादीका तर्फबाट समिति सदस्य रहेका बेदुराम भुसालले एमालेबाट विभाजित शक्ति भएकाले अन्य दलजस्तै सम्मानजनक भाग पाउनुपर्ने दाबी गरेका थिए।

उनले पोखराका साथै हेटौंडा, तुलसीपुर र इटहरीमध्ये दुई उपमहानगरको प्रमुख एकीकृत समाजवादीले पाउनुपर्ने माग राखे। ‘शान्ति प्रक्रियामा माओवादीलाई दिइएको जस्तै हामीलाई भाग चाहिन्छ,’ एकीकृत समाजवादीका नेताहरुको भनाइ उद्धृत गर्दै समितिका एक सदस्यले भने।

एकीकृत समाजवादीले पोखरा प्राप्त गर्ने सम्भावना देखेर उम्मेदवारको नाम समेत सिफारिस गर्न लगाएको छ। स्थानीय कमिटीले १३ जनाको नाम सिफारिस गरेको छ।

आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरिएको हो।

एकीकृत समाजवादीबाट जिल्ला अध्यक्ष धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेललगायतको नाम सिफारिस गरिएको हो। उपमेयरमा जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ सिफारिस भएका छन्।

प्रकाशित मिति : ४ बैशाख २०७९ आइतबार ००:००  ८ : २० बजे