काठमाण्डौ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले देशलाई नै सिध्याइदिने चेतावनी दिनुभएको छ । भ्रष्टाचार देशको सबैभन्दा गम्भीर समस्या भएको उल्लेख गर्दै उहाँले त्यसको विरुद्ध निसाना नसोझ्याउने हो भने देशलाई नै सिध्याइदिने बताउनुभएको हो ।
आज आइतवारदेखि काठमाण्डौमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनी’ को उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार बढ्दै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘मैले जानेर दुई पैसा पनि भ्रष्टाचार गरेको छैन । भ्रष्टाचारविरुद्धको अभियानमा म प्रतिबद्ध छु । भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । भ्रष्टाचार राष्ट्रियतासँग जोडिएको कुरा हो । यो बढ्दै गयो भने यसले एक दिन मातृभूमिलाई खाइदिन्छ । यसलाई नियन्त्रण गर्न सकिएन भने यसले भित्रभित्रै हाम्रो देशलाई सिध्याउँछ भन्ने कुरा फेरि दोहोर्याउन चाहन्छु ।’
काठमाण्डौको बबरमहलमा रहेको नेपाल कला परिषदमा सुरु भएको यो प्रर्दशनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्याष्त्र हुने गरी कार्टुनहरू बनाउन पनि काटुर्निस्टहरूलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया