दीपा महत, जितपुर ।
नेकपा एमालेको प्रतिगमन रोक्न ५ दलिय गठबन्धन गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभएको छ । गठबन्धन भित्रका कांग्रेस, माओवादी लगाएतसंग कयौ विषयमा मदभेद रहे पनि संबिधानको रक्षा गर्दै गणतन्त्रलाई जोगाउन र एमालेको प्रतिगमन रोक्न गठबन्धन गरेको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा वाणगंगा नगर कमिटीले वाणगंगा ६ बैदौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले २०७४ सालमा नेपाली जनताले दिएको दुई तिहाई मतको केपी ओलीले दुरुपयोग गरेको बताउनुभयो । “पाटी भित्रको आपसी झगडाका कारण केपी ओलीले २–२ पटक सम्म संसद विगठन गरे, माधव नेपाल र प्रचण्डको रिस संसद माथि पोखे, मुलुक अस्थिरता तर्फ जाने, बेमौसममा देश चुनावमा जाने र आर्थिर भार थपिने भएकाले संबिधान संगै गणतन्त्रको रक्षार्थ ५ दलिय गठबन्धन गरेको स्पष्ट पार्नुभयो ।” अहिले केहीँ अराजक ब्यक्तीले चित्र बहादुर केसी कांग्रेससंग पोइल गयो भनेर अर्नगल प्रचार गरेको भन्दै आपत्ति जनाउनुभयो । त्यस्ता भ्रामक कुरागर्नेहरु आफै परास्त हुने उहाँको भनाई छ ।
माधव नेपाल र झलनाथ खनालले पार्टी भित्र विद्रोह नगरेको भए गणतन्त्र नै धरापमा पर्ने अवस्था आएको भन्दै संसद अवरुद्ध गरेर एमालेले देशलाई अस्थिरता तर्फ धकेल्नेकाम गरेको आरोप लगाउनुभयो । अवको ३ तहकै निर्वाचनमा ५ दलिय गठबन्धन गरेर चुनावमा जाने स्पष्ट पार्नुभयो ।
निर्वाचनको समयमा अहिले पार्टी प्रवेशको लहरनै चलेको भन्दै पार्टी भित्र भर्ति केन्द्र खोलेजस्तै भएको टिप्पणी गर्नुभयो । पद पाउनकै लागि पार्टी प्रवेश गर्ने र पद पाएपछि उनिहरुले लुटतन्त्र मच्चाउने गरेकोले यस्ता ब्यक्तीले जनताको लागि केहि गर्छन भनेर सोच्न नसकिने बताउनुभयो ।
निर्वाचनमा पार्टीको विचार, सिद्धान्त नीति हेरेर भोट नदिएसम्म देश नबन्ने भन्दै पटक-पटक सरकारमा गएर भ्रष्ट्रचार काण्डमा मुछिएका, देशमा संघियता लादेर मुलुकलाई टाट पल्टाउने पार्टीलाई भोट दिन्छन कि देशको विकासका लागि राम्रो विचार, सिद्धान्त नीति लिएको पार्टीलाई भोट दिन्छन त्यो परिक्षाको रुपमा रहेको उहाले बताउनुभयो ।
कतिपय व्यक्तिले राष्ट्रिय जनमोर्चाको सिद्धान्त, विचार मन पराए पनि पार्टी सानो रहेको र यस्तो पार्टीलाई कस्ले भोट दिन्छ भन्ने जस्ता अभिव्यक्ति दिने गरेको उहाले बताउनुभयो । जबसम्म पार्टीको नीति, विचार सिद्धान्त हेरेर मत दिदैनौ तबसम्म देशको अवस्था यस्तै रहेको उहाको भनाई छ । राष्ट्रिय जनमोर्चाले संघीयताको विरोध गर्दा कतिपयले आफुलाई सिध्याउन खोजेको भन्दै अहिले संघियता देशका लागि घाडो भएको नेपाली जनताले पनि महसुस गरेको उहाको भनाई छ ।
अहिले केहि दल बहुदलिय ब्यवस्था, धर्म निरपक्षेता र गणतन्त्र नै मास्न तर्फ लागेको भन्दै राजतन्त्र ब्यूताउन तर्फ अग्रसर भएको बताउनुभयो । केपी ओली पनि राजा आउ देश बचाउ भन्ने तर्फ संलग्न रहेको आरोप लगाउनुभयो । अव नेपालमा राजतन्त्र नआउने उहाको जिकिर छ ।
अहिले युक्रेन र रुसबीचको युद्धका कारण खाने तेल, ग्यास लगाएत खाद्यन्नको मूल्य बढेको भन्दै परनिर्भरताको कारण यस्तो समस्या भएको उहाँको भनाई छ । नेपालमा यति धेरै कृषियोग्य जमिन छ जलस्रोतको धनी देश नेपाल तर यहाँको जल, जमिन र जंगलको खै त उचित ब्यवस्थापन भएको उहाँले प्रश्न गर्नुभयो । पटक-पटक निर्वाचित भएर सरकारमा जानेले यसको उचित ब्यवस्थापन गर्न नसकेको उहाँको आरोप छ ।
राष्ट्रिय जनमोर्चा सरकारमा सहभागि भए पनि पार्टीका कुनै मन्त्री वा सांसद भ्रष्ट्रचार लगाएतमा नमुछिएको भन्दै यदि त्यसो भएमा त्यस्ता सांसद तथा मन्त्री लाई पार्टीले कारवाही गर्ने र टिकट नदिने चेतावनी दिनुभयो ।
अवको निर्वाचनमा नीति, विचार तथा सिद्धान्त बोकेको जनमोर्चालाई अत्याधिक भोट दिएर जिताउन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा सयौ कार्यकर्ताको सहभागिता थियो ।
प्रतिक्रिया