चन्द्रकान्त न्यौपाने, चारनम्बर ।
दुई बर्ष अगाडी हैटौँडामा भएको सुस्मिता हत्याकाण्डमा भइरहेको कानुनी प्रकृयामाथि परिवारजनले आक्रोश पोखेका छन् । विरलै हुने क्रुर प्रकृतिको हत्यामाथिको घटनाका दोषीलाई सजाय दिन छोडेर उल्टै पीडितलाई नै अनावश्यक दुख दिन खोजेको भन्दै अदालती प्रकृया र न्यायधीशमाथि परिवारले तीव्र आक्रोश पोखेका हुन् ।
सोमबार कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ को सभाहलमा पत्रकार सम्मेलन गर्दै सुस्मिताकी आमा गंगा क्षेत्री, बुबा कृष्ण क्षेत्री, ठुलो बुबा हेम बहादुर खड्काले क्रुर हत्या प्रमाणित केशमा पनि पीडितलाई न्याय दिन किन अदालतले आनाकानी गरेको र न्यायधीशले दिनु दुख दिएको ? पत्रकारलाई सुनाउनु भयो ।
उहाँहरुले पेशी तोकेकै दिन न्यायधीश नै भाग्ने गरेको आरोप लगाउनु भएको छ । पत्रकार सम्मेलनमा ठुलो बुबा खड्काले भन्नुभयो ’पेशीको लागि पटकपटक जिल्ला अदालत हेटौँडामा पुग्यौँ । आज फैसला हुन्छ भन्यो हुँदैन, भोलि हुन्छ भन्यो हुँदैन । जतिपटक पेशी तोकिन्छ, सारिदिन्छन् । कहिले न्यायधिश छुट्टीमा बस्दिन्छन् ? कहिले पिसाब फेर्न जान्छु भनेर न्यायधीश भागिदिन्छन्, कतिपटक कपिलवस्तुबाट हेटौँडा जाने ? अन्यायमा परेका हामीमाथि किन यति धेरै अत्याचार ?
विचाराधिन मुद्धामाथि बोल्दा अदालतको मानहानी हुन्छ कि भनेर चुप लाग्दा घटनालाई नै बङ्ग्याउने खेल भइरहेको खड्काको आरोप छ । प्रष्टसंग मारेको केशलाई मारिएको बनाउन पीडकहरु अहिले लागि परेको उहाँले सुनाउनु भयो । यदि त्यसो भए सारा प्रमाण बोकर अन्र्तराष्ट्रिय अदालत हेग जानुको विकल्प हुँदैन, उहाँको चेतावनी छ । उहाँले भन्नुभयो ‘म ओली, प्रचण्ड, देउवा, प्रधानन्यायधीश जो संग पनि कुरा गर्न तयार छु, यदि मेरी छोरीको हत्या गर्ने हत्यारालाई सजाय दिन ढिलाई गरिन्छ, केश बङ्ग्याउन खोजिन्छ भने म सारा मिसिल बोकेर हेग जान्छु । त्यसपछि हेरौँला ।’
न्यायको लागि जिल्ला अदालत हेटौँडा पुग्दा त्यहाँ धम्की र गाली खानु परेकोमा परिवारले गुनासो पाखेका छन् । आमा गंगा क्षेत्रीले अदालतले बोलाएर हेटौँडा जाँदा पीडकहरुले परिचालन गरेका गुण्डाहरुबाट बिभिन्न धम्की खानु परेको बताउनु भयो । उहाँले रुँदै भन्नुभयो ‘छोरीको हत्या भएको दुई बर्ष वितिसक्यो, हत्याराले कहिले सजाय पाउने हुन् थाहा छैन ? न्याय माग्न हेटौँडा जाँदाजाँदा थाकिसक्यौँ । उल्टै तेरो छोरीलाई हामीले मारेका हौँ भनेर गुण्डाहरुले अगानी नै आएर धम्काउँछन्, यस्तो बेला पनि बोलिदिने कोही छैन । हे भगवान् यो देशमा निमुखा जनताले कसरी न्याय पाउँछन् ?’ उहाँले आफूहरुको ज्यान पनि अर्को खतरामा रहेको सुनाउँदै हेटौँडा जान डर लाग्ने बताउनु भयो ।
उहाँले मिल्ने भए सो मुद्धा रुपन्देही या दाङमा सार्न विन्ति गर्नुभयो । ‘यो देशमा कानुन छ, न्याय छ भने चाँडै दोषीलाई कानुन बमोजिम सजाय सुनाइयोस् अन्यथा अदालतमा विचाराधिन मुद्धा चाँडै सारियोस्, जति बर्ष लडे पनि आफ्नै ठाउँमा लड्छौँ हेटौँडा पुग्न अब सक्दैनौँ ।
मुद्धामा रातदिन लडिरहनु भएका ठुलो बुबा खड्काले मुद्धा सारिदिन माग गर्नुभयो ।’ दुई बर्षसम्म हेटौँडा जाँदा आउँदा भएको खर्च पनि अब सरकारले तिर्नु पर्ने उहाँहरुको माग छ ।
मकवानपुरमा भएको चर्चित हत्याकाण्ड मध्ये एक हो, सुस्मिता थापा हत्याकाण्ड । कपिलवस्तुबाट विबाह गरी हेटौँडा गएकी सुस्मितालाई हेटौंडा उपमहानगरपालिका–४ मा गत २०७७ असार १ गते परिवार मिलेर तड्पाइतड्पाई मारेका थिए । सो केशमा मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा, नन्दहरू २७ वर्षीया दुर्गा र २३ वर्षीया नन्द सीता थापा सामेल थिए । अहिले उनीहरु कारागारमा छन् । हत्यामा संलग्नमध्ये ससुरा प्रकाश र कान्छी नन्द सीतालाई सरकारी वकिले कार्यालयले आजीवन कैद सजायको माग गर्दै आरोप पत्र दायर गरिसकेको अवस्था छ । तर न्यायाधिशले समयमा फैसला नगर्दा पीडित परिवारजन आक्रोशित छन् । घटनालाई कतै तोढमोड गर्ने काम हुन्छ कि, हत्याराले कानुन बमोजिम पाउनु पर्ने सजाय नपाउने हुन् कि भनेर परिवारले अहिले चौतर्फी दबाब सिर्जना गर्न थालेका छन् ।
प्रतिक्रिया