९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गणतन्त्र उल्ट्याउने कसरत भइरहेको छः प्रचण्ड



काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्ट्याउन चाहने मानिसहरु रहेको दाबी गरेका छन्।
मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।
उनले नेपालका लागि आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभूत गर्ने गरी विकासमा गति लिने र फड्को कसरी मार्ने भन्ने महत्वका साथ उठाउनु पर्ने बताए।

अध्यक्ष दाहालले अहिलेको २१ औँ शताब्दीको विश्व ग्लोबलाइज, डिजिटलाइज भएको भन्दै यसको प्रभावले हाम्रो विकास मोडेलमा पारेको नकारात्क र सकारात्मक प्रभावलाई गम्भीरताका साथ अध्ययन गरेर मौलिक किसिमको तरिकाबाट देशको विकास गर्न आवश्यक रहेको बताए।
उनले बढ्दो शहरीकरण र त्यसबाट पैदा भएका विभिन्न समस्यालाई समाधान गरेर शहर व्यवस्थापनमा ध्यान दिनु अबको आवश्यकता भएको पनि बताए।

अध्यक्ष दाहालले भने, ‘एउटा प्रवृति छ, संघीय लोकतान्त्रिक गणतन्त्र वा समावेशी समानुपातिक चरित्रको यो संविधानलाई त्यति रुचीकर ठान्दैन। त्यो प्रवृति अहिले पनि तपाईं हामीले देखिरहेका छौँ। कुनै न कुनै रुपले यसलाई विघटन गर्ने, वा यसबाट अर्को दिशातर्फ लाद्ने कसरतहरु भइरहेका छन्। यस्तो परिस्थितिमा हामीले संविधानले र परिवर्तनले र आम जनताले ल्याएको परिवर्तनको प्रक्रियालाई जनताले अनुभूत गर्ने गरी विकासमा हामीले गति कसरी लिने, फड्को कसरी मार्ने भन्ने कुरा असाध्यै महत्वपूर्ण छ नेपालको लागि।’

अध्यक्ष दाहालले विकास निर्माणका लागि आवश्यक ऐनहरू बनाउँदा पछिल्लो समय भएका परिवर्तनलाई सम्बोधन गरिनुपर्ने पनि बताए।

प्रकाशित मिति : २९ चैत्र २०७८ मंगलबार ००:००  ३ : ०६ बजे