९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वहालवाला गाउँपालिका अध्यक्षले गरे सेवा सुविधा फिर्ता



रुपन्देही ।
रूपन्देहीको शुद्धोधन र सियारी गाउँपालिकाका अध्यक्षहरूले जनप्रतिनिधि भएपछि आफूहरूले प्रयोग गर्दै आएको सेवा सुविधा फिर्ता गरेका छन्।

सियारी गाउँपालिकाका अयोध्या थारू र शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले जनप्रतिनिधि भएपछि आफूले लिँदै आएको सेवा सुविधा त्याग गरेको बताएका हुन्।

स्थानीय तहको निर्वाचन घोषणा भएसँगै पार्टीको निर्वाचनको लागि खटिनुपर्ने र जनप्रतिनिधिको रूपमा पाएको सेवा सुविधा लिएर पार्टीको काममा खटिनु उचित नहुने भएकोले सेवा-सुविधा त्याग गरेको चौधरी र थारूले बताए।

‘म पार्टीको इमान्दार सिपाही भएकोले निर्वाचनको मिति घोषणा भएपछि पार्टीको प्रचार-प्रसार तथा कुनै पनि कार्यक्रममा सहभागी हुनुपर्छ, पार्टीको काममा सरकारी सेवा सुविधा लिएर जान नैतिकताले नदिएपछि आफूले लिँदै आएको सेवा-सुविधा त्याग गरेको छु,’ सियारीका अध्यक्ष थारूले भने।

२०७४ साल जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा चौधरी शुद्धोधन र थारू सियारी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए।

हाल जनप्रतिनिधि रहेका व्यक्तिहरू फेरि उम्मेदवार बन्न खोजे अहिले पाइरहेको सेवा सुविधा त्याग्नुपर्ने निर्वाचन आयोगको नियम अनुसार आफूले गाउँपालिकाबाट प्राप्त गरेको सेवा सुविधा त्याग गरेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीले बताए।

अधिकांश थारू समुदायको बाहुल्यता रहेको सियारी र शुद्धोधनमा आगामी निर्वाचनको लागि समेत थारू र चौधरी दुबै जनाले अध्यक्षमा आकांक्षा देखाएका छन्।

दुबै जना जनप्रतिनिधिको पाँच वर्षको काम सन्तोषजनक रहेकोले नेकपा एमालेले पनि दुबै जनाको नाम पार्टीको माथिल्लो कमिटीमा सिफारिस गरेको छ।

निर्वाचन आयोगले हालका जनप्रतिनिधिहरूले फेरि पनि उम्मेदवारी दर्ता गरेपछि सेवासुविधा त्याग्नुपर्ने बताएको छ।

चौधरी र थारूले भने उम्मेदवार बन्ने घोषणा गरेपछि चैत २७ गतेदेखि नै लागू हुने गरी उक्त सेवा-सुविधा त्याग गरेका हुन्।

रूपन्देहीमा फेरि पनि उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले पालिकाबाट पाइरहेको सेवा-सुविधा त्याग गरेको घोषणा गर्ने चौधरी र थारू नै पहिलो गाउँपालिका अध्यक्ष हुन्।

रूपन्देहीका अधिकांश जनप्रतिनिधिहरूले फेरि पनि उम्मेदवार बन्ने घोषणा गरे पनि सेवा-सुविधा भने त्याग गर्न सकेका छैनन्।

प्रकाशित मिति : २९ चैत्र २०७८ मंगलबार ००:००  ९ : १४ बजे