काठमाडौं ।
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई तीन रनले हराएको छ । गएराति मुम्बईमा भएको खेलमा लखनउलाई हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । लखनउका क्विन्टन डी ककले ३९ रन, मार्कुस स्टोनिसले ३८, दीपक होडाले २५, क्रुनाल पाण्डेयले २२ र दुश्मन्था चामिराले १३ रन जोडे ।
राजस्थानका युजभेन्द्र चाहलले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले दुई तथा प्रसिद्ध कृष्ण र कुलदीप सेनले एक÷एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । राजस्थानका लागि सिम्रन हिटमायरले ५९ रनको अर्धशतकीय पारी खेले भने देवदूत पडिकलले २९, रविचन्द्र आश्विनले २८ र जोस बट्लरले १३ रन बनाए ।
लखनउका जासन होल्डर र कृष्णपा गोथामले दुई÷दुई तथा अभेश खानले एक विकेट लिए । जितसँगै राजस्थान अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले ४ खेलमा ६ अङ्क जोडेको छ । ५ खेलमा ६ अङ्क जोडेको लखनउ तालिकाको पाँचौँ स्थानमा छ ।
यस्तै, आईपीएलमा हिजै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४४ रनले हराएको थियो। मुम्बईमा दिल्लीले दिएको २ सय १६ रनको लक्ष्य पछ्याएको कोलकाता तीन बल बाँकी छँदै एक सय ७१ रन बनाउँदा अलआउट भएको थियो ।
प्रतिक्रिया