काठमाडौं ।
राप्रपाले आजदेखि स्थानीय तहको निर्वाचन लक्षित देशव्यापीरुपमा ’जनताको माझमा राप्रपा र घरदैलो अभियान’को औपचारिक शुरुआत गर्दैछ । हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा गरिने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।
राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौं भन्ने नारा तय गरेको छ । राप्रपाले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।
राप्रपाले निर्वाचन स्थानीय तहको निर्वाचनका उमेदवार छनौटका लागि सम्बन्धित तहमा ताकेता पनि गरिरहेको छ । उमेदवार छनौट गर्दा सम्बन्धित तहमा लोकप्रिय, उच्च नैतिक चरित्र भएको, सामाजिक क्षेत्रमा क्रियाशील, विकास निर्माण र रचनात्मक कार्यमा सक्रिय रहेको, विगतका निर्वाचनमा पार्टी र पार्टीका उमेदवारका पक्षमा सक्रियतापूर्वक कार्य गरेको, पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलन लगायतका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको र सुशासनमा प्रतिबद्धता हुनुपर्ने मापदण्ड तय गरेको छ ।
प्रतिक्रिया