७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बु्टवलमा प्रहरी हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा अभियुक्त फेला



बुटवल ।

चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका बुटवलका एक व्यक्ति घाँटी रेटिएको अवस्थामा घाइते फेला परेका छन् ।

तामाको तार चोरीको अभियोगमा बुटवलस्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । बुटवल–११ का ४० वर्षीय नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनी लुम्बिनी प्रादेशिक अस्पतालका सफाइ कर्मचारीसमेत हुन् । गम्भीर अवस्थामा रहेका उनको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल औद्योगिक क्षेत्र आसपासमा शनिबार तामाका तारहरु कबाड पसलमा बेच्दै गरेको अवस्थामा नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले त्यसदिन सामान्य सोधपुछ गरेर छोडेको थियो । अन्य स्थानबाट पनि तामाका तारहरु चोरी भएको उजुरी आएपछि सोमबार बिहान उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो ।

पत्नी तथा आफन्त घर फर्केपछि उनी मध्याह्न घाँटी रेटिएको अवस्थामा फेला परेका थिए । अनुसन्धानका लागि हिरासतमा बस्नु पर्ने भएपछि आत्मग्लानीका कारण धारिलो हतियारले घाँटी रेटेर आत्महत्या गर्न खोजेको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायब उपरीक्षक ठगबहादुर केसीले जनाए । तर, उनी आफैंले केही वस्तु लगे वा हिरासतका उपकरण प्रयोग गरेर घाँटीमा रेट्न खोजेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

नेपालीका आफन्तले भने हिरासतभित्रै घाँटी रेटिनु गम्भीर भएको भन्दै घटनाको छानबिन हुनुपर्ने माग गरेका छन् । उनकी आफन्त मानकुमारी सार्कीले कुनै धारिलो हतियार लैजान नपाइने हिरासतभित्रै घाँटी रेटिनु शंकास्पद रहेको बताकी छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८ मंगलबार ००:००  ५ : ३३ बजे