७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

गौतमबुद्ध विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एअरलाइन्सले गर्ने



काठमाण्डो ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल वायु सेवा निगम नेपाल एअरलाइन्सको जहाजले गर्ने भएको छ । आउँदो वैशाख १ गते वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान ले जनाएको छ ।

भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । आउँदो वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना छ ।

यो विमानस्थलमा व्यावसायिक उडान गर्नका लागि अहिलेसम्म ११ वटा कम्पनीको चासो देखाएका प्राधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध विमानस्थलबाट चाँडो व्यावसायिक उडान गर्न निर्देशन दिएसँगै प्राधिकरणले त्यसको तयारी गरेको हो ।

यो विमानस्थलमा क्यालिब्रेशन फ्लाइट अर्थात् परीक्षण उडान उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । यो विमानस्थलमा गएको फागुन पहिलो हप्ता थाइल्यान्डको एरो थाईले क्यालिब्रेशन फ्लाइट गरेको थियो ।

यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको मन्त्रालयले जनाएको छ । यो विमानस्थलमा व्यावसायिक उडानका लागि चासो देखाउनेमा नेपाली ध्वजावाहक नेपाल वायु सेवा, जजिरा एअरवेज, श्रीलङ्कन एअर, सलाम एअर, थाई स्माइल, कतार एअर, फ्लाई दुबई, गल्फ एअर, गो एअर, एअर बिच र ओमन एअर रहेका छन् ।

हप्ताको सातै दिन उडान गर्ने योजना बनाएको जजिरा एअरवेजले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८ सोमबार ००:००  ३ : ०६ बजे