९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

यी हुन् एकीकृत समाजवादी कपिलवस्तुको सचिवालय बैठकले गरेका निर्णय



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको सातौ सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ । पार्टी कार्यालय तौलिहवामा बुधबार बसेको बैठकले आसन्न स्थानीय तहको निर्वाचन केन्द्रीत महत्वपूर्ण निर्णय गरेको छ । बैठकले ५ सय १ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ भने स्थानीय तहलाई केन्द्रीत गरि घोषणा पत्र जारी गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले विभिन्न क्षेत्रका १३ जना नेतालाई जिल्ला कमिटीमा मनोनित गरेको पार्टी प्रचार विभागले जनाएको छ ।

बैठकमा पालिका इन्चार्ज, क्षेत्रीय इँचार्ज र जनवर्गीय संगठनका अध्यक्षहरुले आ-आफ्नो रिर्पोटिङ गर्नुभएको थियो ।

यस्तै आगामी २५ गते भित्र जिल्ला भित्रका सबै पालिकामा बैठक राखि निर्वाचन केन्द्रीत योजना बनाउने बैठकले निर्णय गरेको पार्टी जिल्ला उप-सचिव कमल भट्टराईले जानकारी दिनुभयो ।

पार्टी जिल्ला अध्यक्ष लंक बहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा प्रमुख अतिथिको आसनबाट बोल्दै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले निर्वाचन केन्द्रीत भएर काम गर्न निर्देशन दिनुभयो । यही महिना भित्र जिल्लाभर उम्मेद्वार घोषणा गरिसक्ने भन्दै गठबन्धन दलहरु बीच पनि छलफल गरेर अगाडी बढ्ने बताउनुभयो । चुनावी तालमेलका कुरा जिल्लामा अहिले नै भन्न सक्ने स्थिति नभएको भन्दै छलफलबाटै अगाडी बढ्ने उहाँले बताउनुभयो । अहिले आफु बलियो हुने गरि लाग्नुपर्ने बेला आएको भन्दै जिल्लामा एमालेले भन्दा बढी पालिका जितेर देखाउने बताउनुभयो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मीना परियारले जनताको मन जित्न सक्नेलाई पार्टीले उम्मेदवार बनाउने बताउनुभयो । विपक्षीले पार्टीबारे विभिन्न भ्रम छर्दै हिडेको भन्दै उहाँले त्यसलाई चिर्नुपर्नेमा जोड दिनुभयो । समाजवादी सिंगो कम्युनिष्ट आन्दोलन बचाउने गरि अगाडी बढेको भन्दै निष्ठा र इमान्दार पूर्वक पार्टी काममा लाग्नुपर्नेमा जोड दिनुभयो । सच्चा कम्युनिष्ट पार्टीले मात्र समाजको रुपान्तरण गर्ने भन्दै नेता परियारले समाजवादको यात्रामा दृढ भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा पार्टी प्रदेश कमिटी सदस्य जीवलाल पौडेल, एमडी हसन, जित बहादुर रावत, अमिर हाम्जा लगायतले बोल्नुभएको थियो ।

पार्टी जिल्ला सचिव ओम प्रकाश कुर्मीको सञ्चालनमा भएको बैठकमा हालै मात्र लुम्बिनी विकास कोषको बोर्ड सदस्यमा नियुक्त हुनुभएका राम नरेश कहारलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८ बिहिबार ००:००  ८ : ०१ बजे