९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमाले, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्न पर्याप्त समय छः भुसाल



काठमाडौं ।

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले एमाले, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्न पर्याप्त समय भएको टिप्पणी गरेका छन्। काठमाडौंमा सञ्चारकर्मीलाई बोलाएर भुसालले तीन पार्टी सैद्धान्तिक रुपमा फरक नभएकाले चुनावी तालमेलसँगै एकता गरेर जानुपर्ने तर्क राखेका छन्।

‘मैले एमाले र माओवादी एकता हुनुभन्दा पहिले सैद्धान्तिक रुपमा एमाले माओवादीमा कुनै फरक छैन। सैद्धान्तिक रुपमा अलग रहन पर्दैन भन्दा मेरो विरोध भयो त्यसको केही समयपछि एकता भयो,’ भुसालले भने, ‘एमाले, माओवादी र समाजवादीबीच चुनावी तालमेल गरेर एकता गर्न पर्याप्त समय छ। हिजोका के कारण समस्या भयो। कसरी एकतालाई झन राम्रो बनाउन सकिन्छ भने सिक्नका लागि उदाहरण हुने भयो। हिजो भन्दा आज एकता झन सजिलो भयो।’
तीन पार्टीबीच चुनावी गठबन्धन हुन कुनै विषयले नरोक्ने भुसालको भनाइ छ। ‘हामीले गल्ती गरेर पार्टी फुटेको हो अरु कसैले आएर फुटाएको होइन। यति मात्रै भनेमा प्रक्रिया सुरु भइसक्छ। पार्टी एकताका लागि छलफल चलाउन सकिन्छ,’ भुसालले भने, ‘नेताको स्वार्थमा पार्टी एकता टिक्दैन। त्यो यसअघि देखिइसकेको छ। दुनियाले बुझिसकेको छ।’
पार्टी एकताका विषयमा नेतृत्वमा रहेका ओलीलाई मात्रै बुझाउन बाँकी रहेको भुसालको भनाइ छ। ‘पार्टी एकताका विषयमा नेतृत्वमा रहेका ओली कमरेडलाई बुझाउन बाँकी छ। अरु नेताहरुले बुझेका छन् तलका कार्यकर्ताले बुझेका छन्,’ भुसालले भने, ‘माओवादी र एकीकृत समाजवादीको नेतृत्वमा रहेकालाई बुझाउन बाँकी छ।’

प्रकाशित मिति : ८ चैत्र २०७८ मंगलबार ००:००  २ : २१ बजे