काठमाडौं ।
जिल्ला प्रहरी कार्यालय तनहुँले नायक पल शाहविरुद्ध जबर्जस्ती करणी अभियोगमा अनुसन्धान पूरा गरेको छ।
उमेर नपुगेकी किशोरीलाई विहेको प्रलोभन देखाएर पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा शाहलाई तीन पटक म्याद थपसहित हिरासतमा राखेर अनुसन्धान गरेको तनहुँ प्रहरीले सोमबार अनुसन्धान प्रतिवेदन फाइल सरकारी वकिल कार्यालयमा बुझाएको छ।
सरकारी वकिल कार्यालय तनहुँका प्रमुख रामचन्द्र शर्माले प्रहरीबाट अनुसन्धान प्रतिवेदन आइपुगेको बताए। ‘अनुसन्धान प्रतिवेदन अध्ययन गर्दैछौं। चाँडै अदालतमा मुद्दा दर्ता गर्छौं,’ उनले भने।
नाबालिकालाई जबरजस्ती करणी अभियोग लागेका शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।
पीडित परिवारले नवलपुरको गैँडाकोटमा पनि जबर्जस्ती करणी भएको भन्दै उजुरी दिएपछि शाहलाई गैँडाकोट झिकाएर प्रहरीले अनुसन्धान गरेको थियो। नवलपुर प्रहरीले यसअघि नै अनुसन्धान सकेर सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।
नवलपुर प्रहरीलाई दिएको वयानमा शाहले अभियोग अस्वीकार गरेका छन्।
प्रतिक्रिया