काठमाडौँ ।
नेकपा एमालेका नेता घनश्याम भूसालले चुनावी एकतालाई लिएर पार्टीमा फरक मत राखेका छन् । सोमबार बसेको पोलिटब्युरो बैठकमा नेता भूसालले कम्युनिस्ट पार्टीहरूबीच गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
भूसाल बहुसंख्यक कार्यकर्ता र सदस्यहरूले कम्युनिस्ट एकता चाहेको हुनाले कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक रहेको प्रस्ताव गरेका छन् । भूसालले बैठकमा विभिन्न चार कारण पेस गर्दै कम्युनिस्ट गठबन्धन आवश्यक रहेको बताएका हुन् ।
यसका लागि नेकपा (एमाले) ले नै पहल गर्नुपर्ने पनि उनको भनाइ छ । एमाले वाम एकताको मूल प्रवाह भएकोले पनि त्यसको पहल गर्नुपर्ने उनको तर्क छ । साथै, तत्कालीन नेकपा विघटनका सैद्धान्तिक तथा वैचारिक कारण नभएकाले गठबन्धन सम्भव रहेको उनको तर्क थियो।
स्थानीय तहको चुनावी माहोल सुरु भइरहँदा नेता भूसालले वाम गठबन्धनको प्रस्ताव अघि सारेका हुन् । उनले गठबन्धन मार्फत् निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्नुपर्ने बताएका थिए ।
एमालेका अन्य नेताहरूले भने माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सँग तालमेल गर्न नहुने अडान राख्दै आएका छन् ।
प्रतिक्रिया