९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

हात्तीपाइले रोग अझै पनि चुनौती, कपिलवस्तुमा १४ औँ पटक ६ लाख बढीलाई औषधि खुवाइदै



दीपा महत, जितपुर ।

नेपालमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न चुनौती देखिएको छ । यही क्रममा कपिलबस्तुमा १४ औँ चरणमा ६ लाख २० हजार ४ सय ९१ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै छ ।

यहि फागुन २८ गतेबाट जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइँने भएको हो । पटकपटक हात्तीपाइले निवारणका लागि अभियान चलाएपनि रोग निवारण नभएपछि यस वर्ष १४ औँ चरणमा हात्तीपाइले विरुद्धको औषधि खुवाइँने भएको हो । मंगलवार सदरमुकाम तौलिहवामा एक कार्यक्रमगरी हात्तीपाइले विरुद्धको अभियान बारे जानकारी गराइएको थियो ।

फागुन २८ गतेबाट जिल्लाभर हात्तीपाइले विरुद्धको औषधि खुवाइँने हुँदा औषधि खाएर हात्तीपाइले निवारण अभियानमा साथ दिन जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख हेमराज पाण्डेले आग्रह गर्नुभयो । १३ औँ पटक अभियान संचालन गर्दापनि हात्तीपाइले निवारण नभएकोले यस वर्षपनि अभियान संचालन गर्नुपरेको बताउनुभयो ।

अवको २ वर्षमा हात्तीपाइले निवारणको लक्ष्य लिएकाले हात्तीपाइले विरुद्धको औषधि खाएर ढुक्क हुन उहाको आग्रह छ । हात्तीपाइले विरुद्धको औषधि बारे आएका गलत सुचनाको पछि नलाग्न आग्रह गर्दै प्रमुख पाण्डेले यसबारे देखिएका भ्रम चिर्न पत्रकारको भूमिका पनि महत्वपूर्ण रहने बताउनुभयो ।

संचार माध्यममा आएका खबर तथा सुचनाहरु जनताले विश्वास गर्ने भएकाले हात्तीपाइले रोग, यसका असर, यस विरुद्धको औषधि र यो रोग निवारणको बारेमा जनतालाई स्पष्ट जानकारी दिँदै औषधि खानका लागि प्रेरित गर्नुपर्ने बताउनुभयो । पाण्डेले जिल्लामा अहिलेसम्म संचालित हात्तीपाइले विरुद्धको अभियान, यसको प्रभावकारीता, जिल्लामा यस रोगको अवस्था लगाएत विषयमा जानकारी दिनुभएको थियो ।
यस्तै कार्यक्रममा डाक्टर गणेश क्षेत्रीले हात्तीपाइले रोग विरुद्धको औषधि खाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने जस्ता समस्या देखिन सक्ने र यो सामान्य नै भएकाले नआत्तिन सुझाव दिनुभयो यो औषधि दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुगेका सुत्केरी र खाली पेटमा भने नखान उहाको आग्रह छ ।
कपिलवस्तुमा हालसम्म १३ औँ पटक सम्म औषधि खुवाउँदा पनि ९ प्रतिशत ब्यक्तीमा हात्तीपाइलेको परजिवी पाइएकाले परजिवी निवारणका लागि यस पटक थप औषधी खुवाउन लागिएको हो ।

सबैभन्दा बढी कपिलवस्तु नगरपालिकामा ८२ हजार २ सय ४३ जनालाई औषधि खुवाइने छ भने सबै भन्दा कम विजयनगर गाँउपालिकामा ४० हजार ४ सय ८३ जनालाई औषधि खुवाइदै छ ।

यस्तै वाणगंगा नगरपालिकामा ७७ हजार ६ सय ७०, शिवराजमा ७३ हजार ३ सय ३५, बुद्धभूमिमा ७० हजार ४ सय १२, कृष्णनगरमा ६७ हजार ८ सय ६७, महाराजगंजमा ६१ हजार ५ सय १६ जनालाई औषधि खुवाइने छ । यस्तै मायादेवी गाउँपालिकामा ५३ हजार ५ सय ६, शुद्धोधन गाउँपालिकामा ५० हजार ३ सय ९२ र यशोधारा गाँपालिकामा ४३ हजार ४७ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने छ ।

अभियानमा जिल्लाभरबाट ६ सय ११ स्वास्थ्यकर्मी र ११ सय ५ स्वयमसेविका खटिनेछन् । यस्तै यसवर्ष विगतमा दिइने औषधी र यस वर्ष दिइने औषधिको मात्रा पनि फरक छ । यस्तै यसवर्ष ब्यक्तीको उचाइ अनुसार स्वास्थ्यकर्मी तथा स्वयम सेविकाको प्रत्यक्ष निगरानीमा औषधी खुवाइने छ । अहिले औषधीको मात्रा बढी भएपनि डोज भने कम रहेको छ ।

६ वर्षसम्म खानुपर्ने औषधिलाई २ वर्षमै झार्न, औषधीको प्रभावकारीता बढाउन, परजिवीको वयस्क र बच्चा दुबैलाई मार्न औषधीको साइट इफेक्ट कम गर्न यस वर्ष देखि नँया औषधि दिइन लागेको हो । अब दिइने औषधि २ पटक खाएमा २ वर्षमै हात्तीपाइले निवारण हुने जनाइएको छ ।

कार्यक्रम कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताको संचालनमा भएको हो । कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले अभियानलाई सफल पार्न पत्रकारको भूमिका महत्वपूर्ण हुने भन्दै जिल्लामा हात्तीपाइले निवारण गर्नेगरी प्रभावकारी ढङ्गले कलम चलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८ मंगलबार ००:००  ७ : ३१ बजे