९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

माओवादी केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ। हिजो दुईपटक सारिएको बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए।

यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारनै दिउँसो २ बजेका लागि सारिएको थियो। तर, नबसी आजका लागि सारिएको हो।

गत शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए। बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय छ।

आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ। गतको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो।

२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो। केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो। १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन्।

त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोरोना र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो। माओवादी केन्द्रको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८ सोमबार ००:००  ७ : १४ बजे