९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि समस्या



बाँके ।

बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेपछि थप समस्या सिर्जना भएको छ । ३ सय ५० जनाको क्षमता रहेको कारागारमा ८ सय १४ जना कैदीबन्दी राखिएपछि उनीहरुले विभिन्न सरुवा रोगहरुको सामना गर्नु परेको र न्युनतम सुविधासमेत पाउनबाट बञ्चित बनेका हुन् ।

धेरै कैदीबन्दीको चापका कारण नयाँ कारागार भवन निर्माण कार्यमा पनि समस्या देखिएको नेपालगञ्ज कारागारका जेलर राजकुमार सोनकरले बताए । उनले क्षमताभन्दा बढी कैदीबन्दीका कारण लुतो लगायतका सरुवा रोगको समस्या र शौचालयको समस्या हुने गरेको बताए । कैदीबन्दीलाई व्यवस्थित रुपमा राख्ने उद्देश्यले सरकारले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ नौंबस्तामा ३ हजार क्षमताको अत्याधुनिक क्षेत्रीय कारागार भवन निर्माण शुरु गरेको ५ वर्ष बितिसक्दा पनि पूरा हुन नसक्दा थप समस्या बढेको उनको भनाइ छ । जेलर सोनकरले क्षेत्रीय कारागार भवन निर्माणमा ढिलाई हुँदा कारागार प्रशासनलाई कैदीबन्दीको व्यवस्थापन गर्न सकस भएको बताए ।

कारागार निर्माण गर्न मूल्य अभिवृद्धि कर भ्याटबाहेक ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा ठेकेदार कम्पनी पप्पु–रसुवा जेभीले ३८ करोड ६८ लाख रुपैयाँको लागतमा ठेक्का सम्झौता गरेको थियो । २०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइएको थियो ।

तर, यो समयमा काम पूरा नहुँदा सो निर्माण कम्पनी कालोसूचीमा परेको छ । अहिले रसुवा निर्माण कम्पनीले एक्लै काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले २०७६ कार्तिक ८ गतेसम्म कारागार भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर अहिलेसम्म करिव ८० प्रतिशत काम मात्रै पूरा भएको छ । बाँकेमा मात्रै नभएर देशभरका कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८ आइतबार ००:००  १२ : ४१ बजे