१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

तुलसीपुर उपमहानगरको स्मार्ट छोरी कार्यक्रममा ३ सय ८१ छोरी सहभागी



दाङ ।

दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको स्मार्ट छोरी कार्यक्रममा करिब ४ सय छोरीको खातामा पैसा जम्मा गरिएको छ ।

छोरीलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ २०७७ साउन १ गतेदेखि लागू भएको स्मार्ट छोरी अहिलेसम्म झण्डै ३ सय ८१ जना छोरीको बैंकमा खातामा पैसा जम्मा गरिएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले उनीहरुको बैंक खातामा पहिलो वर्ष एक वर्षमा मासिक एक सयका दरले वार्षिक एक हजार दुईसय रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको थियो । चालु आर्थिक वर्षमा दोब्बरले वृद्धि गरी वार्षिक दुईहजार चार सयका दरले जम्मा गर्दै आएको महिला बालबालिका तथा सामाजिक विकास शाखाकी राधा भट्टराईले जानकारी दिनुभयो ।

ुबिहेवारी २० वर्ष पारिु भन्ने मूल नाराका साथ सञ्चालन भएको यो कार्यक्रम अन्तर्गत गएको आर्थिक वर्ष र चालुआर्थिक वर्षको फागुन पहिलो हप्तासम्म ३ सय ८१ जना छोरी बैंक खाता सञ्चालन भएको भट्टराईले बताउनुभयो । जसमा गएको आर्थिक वर्षमा १ सय ३४ जना र चालु आर्थिक वर्षको फागुन पहिलो हप्तासम्म २ सय ४७ जना गरी ३ सय ८१ जना स्मार्ट छोरीहरु यो कार्यक्रममा जोडिएका छन् । तुलसीपुर क्षेत्रका नागरिकहरुले यो सुविधा लिने गरेका छन् । २०७७ साउनदेखियता जन्मिएका छोरीहरुलाई मात्रै यो कार्यक्रममा समावेश गरिएको छ ।

बालविवाह न्यूनीकरण गर्ने उद्देश्यकासाथ यो कार्यक्रम लागू गरिएको हो । छोरीले कम उमेरमा विवाह गर्दा भविष्यमा विभिन्न खाले समस्या भोग्नु पर्ने हुँदा ुबिहेवारी २० वर्ष पारिु भन्ने नारा साथ स्मार्ट छोरी कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

यस कार्यक्रममा समावेश हुनका लागि छोरी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता बनाइ सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर उपमहानगरपालिकामा गएर कागजपत्र पेस गर्नु पर्ने व्यवस्था गरिएको छ । छोरीको जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपि, अभिभावक आमाबुबा दुवै जनाको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, छोरीको पासपोर्ट साइजको फोटो ४ प्रति, आमाबुबाको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि, अस्पताल वा स्वास्थ्य केन्द्रमा सुत्केरी भएको प्रमाणपत्रको प्रतिलिपि, गर्भवती तथा सुत्केरी जाँच गरेको कार्डको प्रतिलिपि पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८ शुक्रबार ००:००  ११ : २३ बजे